हेटौंडा । बाल विवाह रोक्न मकवानपुरको विकट कैलाश गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक रुपले विपन्न, शिक्षाको अवसरबाट बञ्चित, बालविबाहको जोखिममा रहेका छात्राहरुलाई प्रोत्साहन गर्दै समुनत र सक्षम गाउँपालिका निर्माणका लागि पालिकाले चेली प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको हो ।

कैलाश गाउँपालिकाको गाउँसभाको १३ औं अधिवेशनको अवसरमा कक्षा १२ उत्तीर्णका साथै २० वर्ष उमेर पुगी बिवाह गर्ने ८ जना चेलीलाई प्रोत्साहनस्वरुप सम्मान गरेको छ । बजेटमै चेली प्रोत्साहन कार्यक्रम उल्लेख गरी कार्यान्वयन गरेको गाउँपालिकाले गाउँसभाको अवसरमा ८ जना चेलीलाई प्रतिव्यक्ति २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ ।

गाउँपालिकाले वडा नं. १० निवासी सम्झना स्याङ्तान, वडा नं. ६ निवासी गोमा थोकर, वडा नं. ९ निवासी राममाया विश्वकर्मा, गंगा घिमिरे, सजिना शिवाकोटी, अमिरा थापा, पार्वती बर्ताैला, राधिका कालाखेतीलाई नगदसहित सम्मान गरेको हो । पालिका अध्यक्ष लोक बहादुर मुक्तान, उपाध्यक्ष बाल कुमार मल्ल ठकुरी, प्रमुख प्रशासकीय अधिकृत विनोद रोक्का लगायतकाले संयुक्त रुपमा गाउँसभाको अवसरमा चेलीहरुलाई सम्मानपत्र सहित नगद हस्तान्तरण गरेका थिए ।

बालविवाह कम गर्नुका साथै शिक्षामा अब्बल बनाउन गाउँपालिकाले हरेक वर्ष प्रोत्साहन कार्यक्रम गरिरहेको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए। अभिभावकहरूमा सकारात्मक सन्देश जाओस् भन्ने उद्देश्यले चेली प्रोत्साहन कार्यक्रम गरिएको उनको भनाई छ । ‘हामीले गाउँपालिकाका २० वर्ष उमेर पुगेका र कक्षा १२ पास गरिसकेपछि मात्रै विवाह गर्ने चेलीलाई यो कार्यक्रमअन्तरगत प्रोत्साहन रकम २० हजार रुपैयाँसहित सम्मान गर्छौ । यो कार्यक्रममले बालविवाह रोक्न र उच्च शिक्षा हासिल गर्न प्रोत्साहन मिल्ने विश्वास लिएका छौँ ,’उनले भने ।

चेली प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ गाउँ कार्यापालिकाबाट स्वीकृत भई साउनमा प्रमाणित भएको थियो । कैलाश गाउँपालिका भित्र बालविवाहको न्युनिकरण गर्न तथा छात्राहरुको शिक्षामा सहभागिता बढाउन, छात्राहरुको कक्षा छोड्ने प्रवृति निरुत्साहित गरि कम्तिमा प्रविणता प्रमाणपत्र तह (प्लस टु) सम्मको अध्ययन गरि स्वरोजार बनाउने उद्देश्य राखिएको छ ।

पालिकाले २० वर्ष उमेर पुरा भएपछि मात्र विवाह गरि सामाजिक संस्कार अनुसार दैनिक जिवनयापन गर्न सक्ने गरि छात्राहरुको शिक्षा र विवाह गर्ने उमेर सुधार गरि कैलाश गाउँपालिका भित्रको शिक्षा क्षेत्र तथा वालविवाह न्युनिकरण सम्बन्धि कार्यक्रममा सहयोग पु–याउन वाञ्छानीय भएकोले कैलाश गाउँपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रममा उल्लेखित चेली प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम कैलाश गाउपालिका कार्यपालिकाको कार्यालयबाट कार्यविधि स्वीकृत गरी जारी गरिएको थियो ।