हेटाैँडा । परम्परागत संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले मकवानपुरको दुर्गम कैलाश गाउँपालिकाले आयोजना गरेको ऐतिहासिक घाटु नाच तथा घाँसे गीत प्रतियोगिता सम्पन्न भएको छ । कैलाश-२ बैकुण्ठमा घाटु नाच मेलासँगै घाँसे गीत र तामाङ फापरे ह्वाई प्रतियोगिता समेत गरेको थियो ।
मुख्यगरी गुरुङ समुदायले मनाउने घाटु नाच पछिल्लो समय तामाङ र मगर समुदायले पनि मनाउन थालेका छन् । बैकुण्ठमा प्रत्येक वर्ष घाँटुनाच मेला मनाइने गरिन्छ । पारस्परिक नृत्यसँग जोडिएको घाटु नाचमा किशोरीले नृत्य गर्छन् । नाच सुरु हुनुअघि पूजाआजा गरेर अनुमति लिने गरिन्छ । नृत्य सुरु भएपछि निश्चित समयसम्म निरन्तर चलिरहन्छ ।
घाँसे गीत प्रतियोगितामा १८ वटा समूहले सहभागिता जनाएका थिए । जसमा पशुपति गिरी र चिनु चौहान प्रथम, मीना रिजाल र मैयााखत्री द्वितीय, विदुर गिरी र शंकर गिरी तृतीय र कलावती घिमिरे र बेलीमाया दियाली सान्त्वना पुस्कार पाएका थिए । उनीहरुलाई क्रमश: २५, १५, १० र ५ हजार नगद प्रदान गरिएको थियो ।
साथै फापरे ह्वाई गीतमा राममाया स्याङ्बोलाई २५ हजार नगदसहित पुरस्कृत गरिएको थियो । मेला व्यवस्थापन समितिका संयोजक रासुदेव स्याङ्तान दुई दिनसम्म संचालन गरिएको मेलामा कैलाश र राक्सिराङ गाउँपालिका तथा थाहा नगरपालिकाका बासिन्दाको सहभागीता रहेको बताए ।












प्रतिक्रिया दिनुहोस्