हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ रंगशाला चोकमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । साथै अर्का एकजना घाइते भएका छन् ।

हेटौंडा–१७ हटियाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको बा ९९ प २९८१ नम्बरको डुक मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

मृत्यु हुनेमा हेटौंडा–१८ हर्नामाडी ब्रदर्श चोक बस्ने अन्दाजी २८ वर्षका आशिष ढकाल रहेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मोटरसाइकलमा सवार हेटौंडा–१८ हर्नामाडी ब्रदर्श चोकमै बस्ने अन्दाजी २९ वर्षका दिपु लामा गम्भीर घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।