हेटाैडा । कुलेखानी तामाङ समाजको आयोजनामा हुने सोनाम ल्होछार बिशेष साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका स्थित कुलेखानीको टोड्के चौरमा तेस्रो सोनाम ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रम तथा शान्ति पुजाको तयारी पुरा भएको समाजको अध्यक्ष बिरेन गोले तामाङले बताए ।

तामाङ समुदायको राष्ट्रिय पर्ब २८५९ ह्योई÷तावर ल्हो (बिरालो वर्ग) सोनाम ल्होछारको अबसरमा यही माघ २८ गते शनिबार हुने ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रमलाई सफल बनाउन यस पटक गायक तथा संगीतकार सन्जिब वाइबा, गायिका निर्मला घिसिङ, प्रकाश तितुङ, अशोक तामाङ, रबिन्द्र लामा र तबु वाईबा लगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै, चर्चित संचारकर्मी एवम् कार्यक्रम प्रस्तोता सुदिन दोङ तामाङ आउने कार्यक्रम रहेको छ ।

स्थानीय पर्यटन प्रबर्द्धनको लागि सास्कृतिक पर्ब ल्होछारलाई आ–आफ्नो घर आगनमा मनाउने उदेश्यले कार्यक्रमको तय भएकोले सास्कृतिक नाचगान कार्यक्रम संगै लामा गुरुबाट शान्ति पुजा कार्यक्रम समेत रहेको समाजका अध्यक्ष तथा ल्होछार कार्यक्रमको संयोजक बिरेन गोले तामाङ्ले बताए । माघ महिना भरिनै हुने यस्ता ल्होछार साँस्कृतिक कार्यक्रमले गाउँ ठाउमा आम तामाङ समुदायमा जागरण ल्याउने समेत बताए ।

ईन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष देबकृष्ण पुडासैनीको प्रमुख आतिथ्यतामा र उपाध्यक्ष उमाकुमारी लामाको बिशेष आतिथ्यतामा हुने ल्होछार सास्कृतिक कार्यक्रम पालिका कै मुख्य प्रायोजनमा रहेको छ । त्यस्तै, सिजी ब्रुअरी नेपालको सह–प्रायोजनमा कार्यक्रममा लामा, बोन्पो, ताम्बा लगायतको झाँकी प्रदर्शनी हुने छ । समाजको यो ल्होछार सम्बन्धिको साँस्कृतिक कार्यक्रम पाँचौ पटक हो ।

कार्यक्रममा पालिकाको ५ वडा बाटै नृत्य प्रस्तुतिको लागि टिम सहभागी हुने छ भने झाक्री (बोन्पो), लामा, ताम्बा, गान्बा, तामाङ भेषभुषा, डम्फुरे टिमको सहभागिता रहने छ। कार्यक्रम अबधिभर मौलिक खानाका परिकार सहित अन्य खानाको स्टल, तामाङ मौलिक भेषभुषा स्टल रहने आयोजकले जनाएको छ ।