हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुर शाखाले पत्रकार उज्ज्वल अधिकारी र निशा गुरुङलाई सम्मान गरेको छ ।

शनिबार चौतारीले वार्षिक साधारण सभाको अवसरमा चौतारीका पूर्वकेन्द्रीय सदस्य समेत रहेका अधिकारीलाई प्रेमनाथ चौलागाईं स्मृति पत्रकारिता र गुरुङलाई सिर्जनशील पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।

उनीहरुलाई बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, चौतारीका केन्द्रीय महासचिव हिरामान लामाले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका हुन् ।

यसैगरी, चौतारी मकवानपुरले रिक्त रहेको पद उपाध्यक्ष (महिला)मा सुनिता विष्ट, सहसचिव (समावेशी)मा मनिता राना, सदस्यहरुमा अशोक बजगार्ई, स्मिता अर्याल, भुवन थापा र अम्बिका बस्नेतलाई मनोनीत गरेको छ ।

चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको साधारण सभामा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभामा चौतारीका केन्द्रीय महासचिव लामा, सचिव विष्णु तारुके, बागमती प्रदेश कमिटीका अध्यक्ष शरद सापकोटा, केन्द्रीय सदस्य हरि हुमागाईँ, प्रदेश महासचिव प्रकाश दाहाल लगायतको सहभागिता रहेको थियो ।