हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड सञ्चालनमा नेपाली सेनाले चासो देखाएको छ । दुई दशकभन्दा लामो समयदेखि बन्द रहेको सो कपडा उद्योग पुनः सञ्चालनमा सेनाले चासो देखाउँदै सरोकारवालासँगको छलफललाई तीव्र बनाएको छ ।
चीन सरकारको सहयोगमा निर्माण भएको सो उद्योगभित्रको आन्तरिक समस्यासँगै आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटामा गएपछि तत्कालीन सरकार २०५७ फागुन १ गतेबाट उद्योग बन्द गर्ने निर्णयमा पुगेको थियो ।
बन्द भएको सुती कपडा उत्पादन गर्ने उद्योग पटक पटक खारेजीसँगै पुनः सञ्चालनको निर्णयसहित सरकारको प्राथमिकता पर्दै आए पनि सरकारको प्रयास असफल हुँदै आएको छ । तर, पछिल्लो समय सेनाले उद्योग सञ्चालनका बारेमा सम्भाव्यता अध्ययन गरिरहेको छ ।
गत साता मात्र सेनाका उपरथी भोलानाथ बुढाथोकीसहितको टोलीले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक र उद्योगका तत्कालीन कर्मचारीसँग उद्योगको अवस्था, भौतिक संरचना, यथास्थितिमा सञ्चालन हुन सक्ने÷नसक्नेबारेमा जानकारी लिएको छ । २०३२ सालमा स्थापना भएको उद्योगले २०३५ सालमा निर्माण सम्पन्न भएपछि हस्तान्तरणपछि व्यावसायिक उत्पादन थालेको थियो । बोनस बाँड्ने अवस्थामा पुगेको उद्योग उत्पादन सुरु गरेको २२ वर्षपछि बन्द भयो ।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला आठ करोड रुपियाँभन्दा बढी विनियोजन भएकामा मर्मतका लागि केही बजेट खर्च भए पनि सञ्चालनमा आउन सकेन । मर्मत गरेको उद्योग सञ्चालन नगरेर खारेज गरियो । त्यसपछि पनि खारेजीको निर्णय उल्ट्याएर सरकारको नीति तथा कार्यक्रमसँगै बजेटमा पर्दै आए पनि उद्योग सञ्चालन होइन, अझ दुरवस्थामा पुगेको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडी चालु आर्थिक वर्षको बजेटमा समेत कपडा उद्योग सञ्चालन प्राथमिकतामा परेको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि उद्योग सञ्चालन गर्ने उल्लेख भएको जानकारी दिए ।
सरकारले सञ्चालन गर्ने भनेको कपडा उद्योग चलाउनेबारेमा सेनाको टोलीले पछिल्लो समय पटक पटक निरीक्षणसहित अध्ययन गरिरहेको छ । गत शुक्रबार आएको सेनाको टोलीलाई उद्योगका तत्कालीन रङ्गाइ छपाइ विभागका अच्युतानन्द शुक्लले उद्योगको अवस्थाका बारेमा विस्तृत रूपमा जानकारी गराए ।
उद्योगका पूर्वकर्मचारी शुक्लले उद्योग मर्मतसम्भार गरेर उद्योग सञ्चालनमा ल्याउँदा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले यथास्थितिमा सञ्चालन नगरी उपकरण पूरै प्रतिस्पाथपन गर्न सेनाको टोलीलाई सुझाएको बताए । “उद्योगमा रहेका धागो बनाउने र रङ्ग्याउने उपकरण कामै नलाग्ने अवस्थामा छन्, मर्मत गरेर पनि हुँदैन । कपडा बनाउने लुम मात्र काम लाग्ने अवस्थामा छ,” उनले भने, “यथास्थितिमा मर्मत गरेर चलाउँदा बजारमा पाइने कपडाभन्दा मूल्यमा महँगो पर्न जान्छ, प्रतिस्पर्धा गर्न सकिँदैन, उपकरणहरू प्रतिस्थापन गर्नुको विकल्प छैन ।” उनले अहिले कपासको अभाव छ, चीनले समेत भारतसँग धागो खरिद गर्ने गरेको अवस्था रहेकाले हेटौँडामा धागो उत्पादनमा भन्दा बुटवल धागो कारखानालाई समेत जोडेर कपडा बुन्दा उपयुक्त हुने बताए ।
पछिल्लो छलफलपछि उद्योग यथास्थितिमा चल्ने वा नचल्ने वा पुनर्संरचना गर्नेबारेमा सेनाका प्राविधिकबाट थप अध्ययन गरेर निर्णयमा पुग्ने गरी टोली फर्किएको छ । सेनाले थप अध्ययनपछि कुन मोडलमा कसरी सञ्चालनमा ल्याउने भनेर निर्णय गर्ने जनाइएको छ ।
गोरखापत्रबाट साभार












प्रतिक्रिया दिनुहोस्