हेटौंडा । हेटौंडा हुँदै ललितपुर जोड्ने कान्तिलोकपथमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध बनेको छ । बुधवार साँझ परेको अविरल बर्षाका कारण ललितपुरको बागमती गाउँपालिका अन्तर्गत पर्ने भट्टेडाडामा पहिरो गएको र सडकखण्ड अवरुद्ध बनेको भट्टेडाडाँ प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा काठमाडौंबाट हेटौंडा आउने र हेटौंडाबाट काठमाडौं जाने सवारी साधनहरु बाटोमै रोकिएको छ । प्रत्यक्षदर्शीका अनुसार पहिरोले सवारी समेत क्षति पुर्याएको छ ।

त्यस्तै हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दुरीको मार्ग कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ३ सिस्नेरीमा आज बिहान ५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । दुबै सडक खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।