हेटौंडा । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । मुख्यमन्त्री र केही मन्त्रीको जिल्लामा बजेट केन्द्रीकृत गरी असन्तुलित बजेट विनियोजन गरिएको भन्दै आज (आइतबार) को प्रदेश सभाको बैठक दुई दलका सांसदले अवरुद्ध गरेका हुन् ।

सांसदहरूको विरोधका कारण बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेटमाथि छलफल अगाडि बढ्न सकेको छैन । आजको बैठक सुरु गर्दै बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बजेटमाथिको छलफल अगाडि बढाउने क्रममा दलीय आधारमा बोल्न नाम प्राप्त भएको भन्दै नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंलाई बोल्ने समय दिए ।

बजेटमाथि आफ्नो धारणा राख्दै प्रदेश सभा सदस्य गोसाईंले बजेटले प्रदेशवासीको आकाङ्क्षा पूरा नगर्ने र बजेट पक्षपाती भएको भन्दै आफूहरू सैद्धान्तिक रूपमा बजेटको विपक्षमा रहेको बताए । बजेटमा कुनै पनि क्षेत्रले प्राथमिकता नपाएको, कनिका छरेझै पाँच लाखको योजना राखिएको बताउँदै उनले प्रश्न गरे । पाँच लाखको बजेट पठाउने हामी वडा कार्यालय हौँ कि वडाध्यक्ष हौँ ? उनले जिज्ञासा गरे । विपक्षीलाई दबाउने गरी बजेट आएको प्रदेश सभा सदस्य गोसाईंको आरोप छ ।

प्रदेश सभा सदस्य गोसाईंले बोलेपछि बजेटमाथिको छलफलका लागि अर्का प्रदेश सभा सदस्यलाई सभामुख पाठकले बोल्न समय दिएपछि एमाले र राप्रपाका प्रदेश सभाका सदस्यहरूले रोस्टम अगाडि नाराबाजी गर्दै बैठक अवरुद्ध गरे । सभामुख पाठकले एमाले र राप्रपाले बैठक अवरुद्ध गरेपछि आज साँझ साढे पाँच बजेसम्मका लागि बैठक स्थगित गरे ।