हेटौंडा । मकवानपुरमा डेंगु सङ्क्रमितको संख्या ६२४ पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार साउन १ गतेदेखि हालसम्म पुरुष ३४४ र महिला २९३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । गत २४ घण्टामा १३ जना डेंगु सङ्क्रमित थपिएका छन् ।
बुधवार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ८ जना, मनहरी गाउँपालिका ३ जना र भीमफेदी गाउँपालिकामा २ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
जिल्लामा सबैभन्दा धेरै हेटौंडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन । यहाँ ४२७ जनामा डेंगु सङ्क्रमण पुष्टि भईसकेको छ । जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु सङ्मितको संख्या शुन्य रहेको छ । त्यस्तै थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १५ जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६४ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३३ जना, बकैया गाउँपालिकाका १८ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ७ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा डेंगु सङ्क्रमण कारण एक जनाको मृत्यु भएको थियो ।
‘साउनदेखि बढ्दै गएको डेंगु सङ्क्रमण चिसो बढ्दै गएपछि घट्दै जान्छ, गत आवको तथ्याङ्कलाई आधार मान्दा कार्तिक १५ पछि लामखुट्टे हराउँदै जाने भएकाले डेंगु सङ्क्रमण पनि हराउँदै जान्छ,’ स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेले भने । जिल्लाका स्थानीयतहमा डेंगु परिक्षणका लागि आवश्यक किटहरु उपलब्ध गराईएको छ ।
डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो, स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेले एसिड लामखुट्टेले दिनमा मात्र टोक्ने भएकाले डेंगु सङ्क्रमणबाट आफु र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाईबाट बच्न आग्रह गरे । सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाईबाट बचाउने धुप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरु कम्तीमा हप्तामा एक पटक सरसफाई, वरपर पानी जम्न नदिने, पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेंगुका कुनैपनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानको लागि आग्रह गरे ।
लामखुट्टेको टोकाइबाट हुने डेंगुबाट बच्न जिल्लामा ‘लार्भा खोज र नष्ट गर’ अभियान गरिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाका सबै स्थानीयतहसंग समन्वय गरेर महिला स्वास्थ्य स्वयम सेविका, विद्यालयमा जनचेतना जगाउने, अभिमुखीकरण गर्ने, अन्तरक्रिया तथा सन्देशमूलक सामाग्री प्रचारप्रसार गर्ने काम गरिएको छ । पछिल्लो समय वर्षा भईरहेकाले पानी जम्ने स्थानहरुमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता स्थानहरुमा सरसफाई गर्ने तथा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाइएको स्वास्थ्य कार्यालय मकवानपुरको भनाई छ ।












प्रतिक्रिया दिनुहोस्