हेटौँडा । मकवानपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पूर्ण खोप जिल्ला सुनिश्चित गर्ने राष्ट्रिय पूर्ण खोप निर्देशिकाअनुसार १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेपछि सोमबार मकवानपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर, जिल्ला खोप समन्वय समिति मकवानपुरका संयोजक ललितबहादुर घलान, जिल्ला खोप समन्वय समितिका सदस्य सचिव किरण श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले संयुक्त रूपमा पूर्ण खोप सुनिश्चित भएको घोषणा गरे ।

जिल्ला खोप समन्वय समितिका सदस्य सचिव श्रेष्ठका अनुसार मकवानपुरका १० स्थानीय तहका १०२ वडामा २४२ खोप केन्द्रमार्फत १३ प्रकारका रोगविरुद्ध नियमित खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ । जिल्लामा १६ महिनादेखि २३ महिनासम्मका चार हजार ३३५ जना बालबालिकामध्ये ३४ जना खोपबाट छुटेका बालबालिकालाई खोज तथा खोप अभियानमार्फत खोप लगाएपछि जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सम्भव भएको हो । नेपालमा विसं २०३४ सालदेखि राष्ट्रिय खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

घोषणा कार्यक्रममा स्वास्थ्यमन्त्री थापा मगरले नियमित खोप कार्यक्रमले बाल मृत्युदर घटाउनुका साथै विभिन्न रोगबाट बालबालिकालाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले बागमती प्रदेशका सबै १३ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भएपछि प्रदेशलाई पनि पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले पछिल्लो समय मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सञ्चालित हेटौँडा अस्पतालको सेवा र गुणस्तरमा उल्लेखनीय सुधार भएको बताए । प्रदेश सरकारले जिल्ला अस्पतालमा गरेको लगानीका कारण हेटौँडा अस्पतालको दैनिक बहिरङ्ग (ओपिडी) सेवाबाट एक हजार आठ सयभन्दा बढी बिरामीले सेवा लिइरहेको उल्लेख गर्दै भरतपुर र काठमाडौं धाउनुपर्ने बाध्यता हट्दै गएको तथा बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका बिरामीसमेत हेटौँडा अस्पतालबाट सेवा लिन थालेको उनको भनाइ थियो ।

कार्यक्रममा पूर्ण खोप जिल्ला घोषणा सम्पन्न गर्न योगदान पुर्याउने जिल्लाका १० वटै स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा खोप कार्यकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामा, जिल्ला समन्वय समितिका उपप्रमुख सानुकाजी लुइटेल, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाट तथा जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरे लगायतको उपस्थिति रहेको थियो ।