हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेको छ ।

बागमती गाउँपालिका–३ ठुलो देउजोरस्थित सूर्यकिरण सामुदायिक वनको जङ्गलमा शुक्रबार दिउँसो बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बेवारिसे अवस्थामा बन्दुक फेला परेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले उक्त भरुवा बन्दुक नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय फापरबारीमा सुरक्षित राखेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी माधवप्रसाद काफ्लेका अनुसार फेला परेको एकनाले भरुवा बन्दुक चल्ने अवस्थामा रहेको जस्तो देखिए पनि त्यसमा बारुद भने भेटिएको छैन । उहाँले बन्दुक कसले, कहिले र किन जङ्गलमा छाडेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।