हेटौँडा। बागमती प्रदेशका विभिन्न जिल्लामा खेतीयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौँडाले प्रदेशका १३ जिल्लाका ११९ वडामा गरेको माटो परीक्षणका क्रममा माटोमा अम्लीयपनको समस्या बढ्दै गएको पाइएको हो ।
प्रयोगशालाका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८२/८३ सम्म २० हजार २१२ वटा माटोका नमुना परीक्षण गरिएकामा ८३ प्रतिशत नमुनामा अम्लीयपन देखिएको छ । परीक्षण गरिएका नमुनामध्ये ठूलो हिस्सामा अम्लीयपन देखिएपछि खेतीयोग्य जमिनको उत्पादन क्षमता र माटोको गुणस्तर सुधारमा चुनौती थपिएको प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाका कार्यालय प्रमुख तथा वरिष्ठ माटो विज्ञ डा। जनार्दन खड्काले माटोमा अम्लीयपनको समस्या घट्नुको सट्टा बढ्दै गएको बताए । माटो सुधारका लागि भइरहेका प्रयास पर्याप्त नभएको भन्दै उनले अभियानकै रूपमा माटो सुधारका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
काठमाडौँ उपत्यकासहित नुवाकोट, धादिङ, मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवरलगायतका व्यावसायिक तरकारी उत्पादन हुने क्षेत्रमा माटोमा अम्लीयपन बढ्दै गएको प्रयोगशालाले जनाएको छ । सिन्धुपाल्चोक, दोलखा र रसुवालगायतका जिल्लामा भने तुलनात्मक रूपमा अम्लीयपनको समस्या कम देखिएको छ ।
माटोमा अम्लीयपन बढ्नुमा वर्षाको पानी, माटो बनेको मूल चट्टान तथा मानवबाट हुने माटो व्यवस्थापन मुख्य कारण रहेको डा। खड्काले बताए । माटोको अम्लीयपन मापन गर्न पीएच परीक्षण गरिने र आवश्यकताअनुसार कृषि चुनको प्रयोग, प्राङ्गारिक पदार्थको मात्रा बढाउने तथा जैविक र सूक्ष्मजीवमा आधारित मलको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
आर्थिक वर्ष २०८२/८३ मा प्रयोगशालाले एक हजार ५० वटा माटोका नमुना परीक्षण गर्ने लक्ष्य राखेकोमा तीन हजार ४१३ वटा नमुना परीक्षण गरेको छ । लक्ष्यको तुलनामा करिब तीन गुणा बढी नमुना परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ ।
माटो परीक्षणलाई किसानको खेतबारीसम्म पुर्याउने उद्देश्यले प्रयोगशालाले विभिन्न जिल्लामा घुम्ती माटो परीक्षण शिविरसमेत सञ्चालन गर्दै आएको छ । मकवानपुरको इन्द्रसरोवर र धादिङको गजुरीमा माटो परीक्षण शिविर सञ्चालन गरिएको थियो । विश्व माटो दिवसका अवसरमा इन्द्रसरोवर गाउँपालिकामा ३११ वटा माटोका नमुना परीक्षण गरी माटोको अवस्थाका आधारमा १८ मेट्रिक टन कृषि चुन निःशुल्क वितरण गरिएको प्रयोगशालाले जनाएको छ ।
माटोमा अम्लीयपनको समस्या देखिएका क्षेत्रमा कृषि चुनको प्रयोगसँगै प्राङ्गारिक पदार्थको मात्रा बढाउन पनि किसानलाई सुझाव दिइएको छ । गोठेमल तथा अन्य प्राङ्गारिक पदार्थको उचित व्यवस्थापन, जैविक मल र सूक्ष्मजीवमा आधारित मलको प्रयोगबाट माटोको गुणस्तर सुधार गर्न सकिने प्रयोगशालाले जनाएको छ ।
प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत कृषि प्राविधिकलाई माटो परीक्षण तथा माटो सुधारसम्बन्धी जानकारी दिन तालिमसमेत सञ्चालन गरिएको छ । गत आर्थिक वर्षमा १२ जिल्लाका ४७ स्थानीय तहका ६० जना कृषि प्राविधिकलाई दुई चरणमा तालिम दिइएको थियो ।
हेटौँडा उपमहानगरपालिका–१७ र १९ मा किसानलाई जैविक तथा सूक्ष्मजीवमा आधारित मल प्रयोगसम्बन्धी जानकारी दिइएको थियो । ती वडाका १९७ जना किसानलाई नाइट्रोजन, फस्फोरस तथा डिकम्पोजर ब्याक्टेरियालगायतका जैविक मलसम्बन्धी जानकारी तथा सामग्री उपलब्ध गराइएको प्रयोगशालाले जनाएको छ ।
कृषि चुन प्रयोगको प्रभावकारिताबारे अध्ययन गरेपछि हेटौँडा उपमहानगरपालिका–१८ का २३८ घरधुरीका किसानलाई ४० मेट्रिक टन कृषि चुन उपलब्ध गराइएको थियो । माटोको अवस्थाका आधारमा चुनको प्रयोग गर्दा अम्लीयपन घटाउन सहयोग पुग्ने प्रयोगशालाको भनाइ छ ।
माटोको अवस्थाबारे थप जानकारी प्राप्त गर्न सङ्घीय ससर्त अनुदानअन्तर्गत डिजिटल माटो नक्सा तयार गर्ने कार्यक्रमसमेत सञ्चालन भइरहेको छ । कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोक, मकवानपुर र सिन्धुलीबाट ६६४ वटा माटोका नमुना सङ्कलन गरी परीक्षण गरिएको छ ।
प्रयोगशालाले माटोमा रहेको पीएच, नाइट्रोजन, फस्फोरस, पोटास, जिंक, कपर, म्याङ्गानिज, मोलिब्डेनम, माटोको बनावट तथा रासायनिक र प्राङ्गारिक मलको अवस्थालगायतका विषय परीक्षण गर्दै आएको छ । सरकारी कार्यालय तथा सरकारी स्वामित्वका संस्थाबाट आउने नमुना र किसानले स्वयं परीक्षणका लागि ल्याउने नमुनामा परीक्षण शुल्कमा ७५ प्रतिशत छुट तथा अनुसन्धानका लागि विश्वविद्यालय वा विद्यार्थीले सम्बन्धित निकायको सिफारिससहित ल्याएको नमुनामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको प्रयोगशालाले जनाएको छ ।
प्रदेशका १३ जिल्लाका ११९ वडामा माटो परीक्षण तथा माटो सुधारका कार्यक्रम सञ्चालन गर्न जनशक्ति सीमित रहेकाले स्थानीय तहका कृषि प्राविधिकलाई समेत परिचालन गरेर माटो परीक्षण र सुधारसम्बन्धी कामलाई विस्तार गर्नुपर्ने प्रयोगशालाले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्