हेटाैँडा । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले वर्तमान सरकार प्रेस स्वतन्त्रतामाथि सबैभन्दा बढी आक्रमण गर्ने सरकारका रूपमा देखिएको टिप्पणी गरेका छन् ।
नेपाल प्रेस युनियन मकवानपुरले आयोजना गरेको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता सम्मान–२०८३ तथा तिहार विशेष शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा बोल्दै आचार्यले नागरिकको प्रश्न सोध्ने र आलोचना गर्ने अधिकार खुम्चिँदै गएको बताए ।
उनले पत्रकारलाई भयमुक्त वातावरणमा समाचार सम्प्रेषण गर्ने अवस्था नरहेको भन्दै प्रहरी परिचालन गरेर पत्रकारमाथि धरपकड गर्नु संविधानप्रदत्त अधिकारमाथिको हस्तक्षेप भएको बताए ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि महासंघले सरकारलाई पटक–पटक सचेत गराउँदा पनि सुनुवाइ नभएको उल्लेख गर्दै अब सडक आन्दोलनमा जानुपर्ने अवस्था आएको उनको भनाइ छ ।
आचार्यले प्रेस काउन्सिल विधेयक अध्यादेशमार्फत ल्याइएकोप्रति असन्तुष्टि जनाउँदै संसद्को सर्वोच्चता र संवैधानिक प्रक्रियाको सम्मान हुनुपर्ने बताए । उक्त विधेयक फिर्ता लिन राष्ट्रपतिसमक्ष अनुरोध गरिएको जानकारी दिँदै महासंघले सरकारसँग वार्ता, चेतावनी र सडक संघर्षसहितका आन्दोलनका कार्यक्रम अघि बढाउने तयारी गरेको उनले बताए ।
उनले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र संविधानप्रदत्त हकको संरक्षणका लागि पत्रकार, नागरिक समाज तथा सबै सरोकारवालालाई महासंघको आन्दोलनमा साथ दिन आह्वानसमेत गरे।
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले मिडिया काउन्सिलसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
अध्यक्ष लम्सालले अध्यादेश फिर्ता नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिए । उनले सरोकारवालासँग छलफल गरी मिडिया काउन्सिल विधेयकलाई आगामी हिउँदे अधिवेशनबाट पारित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरे ।
कार्यक्रममा अमेरिकामा रही पत्रकारिता गर्दै आएका सुदीप सिवाकोटीलाई स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता सम्मान– २०८३ प्रदान गरिएको थियो । पुरस्कारको राशि ५० हजार रहेको छ ।




















प्रतिक्रिया दिनुहोस्