हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ स्थित सङ्घीय सरकार अन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्रको करिब नौ बिघा सरकारी जग्गा अतिक्रमणमा परेको छ । केन्द्रका अनुसार ७१ बिघा १६ कठ्ठा १६ धुर क्षेत्रफलमध्ये नौ बिघा सात कठ्ठा १२ धुर जग्गा विभिन्न व्यक्ति तथा संस्थाले वर्षौंदेखि अतिक्रमण गरी भोगचलन गर्दै आएका छन् ।
कार्यालयका सूचना अधिकारी बलराम आचार्यका अनुसार अतिक्रमित जग्गामध्ये हालसम्म करिब नौ कठ्ठा जग्गा खाली गराउन सफल भएको छ । उनले क्लब, स्वास्थ्य संस्था तथा केही स्थानीयले सरकारी जग्गामा संरचना निर्माण गरी प्रयोग गर्दै आएको बताए । केन्द्रका अनुसार पिप्ले युवा क्लबले रङ्गशाला निर्माणका लागि कित्ता नम्बर ९६ को आठ बिघा जग्गा प्रयोग गरेको छ भने स्वास्थ्य केन्द्रले १३ कठ्ठा १८ धुर जग्गा अतिक्रमण गरेको पाइएको छ ।
त्यसैगरी स्थानीय उदब चौलागाईं, धनबहादुर लामा, सावित्री बज्राचार्य, नबिन श्रेष्ठ तथा विष्णुप्रसाद दंगालले घर, टहरा, शौचालय, पर्खाल तथा अन्य संरचना निर्माण गरी सरकारी जग्गा अतिक्रमण गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो समय दुई कठ्ठा चार धुर जग्गा फिर्ता ल्याइएको छ । प्रेमबहादुर परियार र पदमबहादुर खड्काले अतिक्रमण गरेको जग्गा खाली गराइसकिएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले २०८० जेठ १ गते सरकारी जग्गा अतिक्रमणसम्बन्धी विवरण माग गरेपछि केन्द्रले अतिक्रमित क्षेत्रको विवरण तयार गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाएको थियो । त्यसपछि नापी कार्यालयको प्राविधिक टोली, जनप्रतिनिधि तथा स्थानीयको उपस्थितिमा नापजाँच गरी सीमाङ्कन गरिएको थियो ।
अतिक्रमित संरचना हटाउन प्रशासनले ३५ दिने सार्वजनिक सूचना जारी गरेपछि केही संरचना हटाइएको कार्यालयले जनाएको छ । तर केही स्थानीयले उच्च अदालत पाटन, हेटौँडा इजलासमा मुद्दा दायर गरेपछि प्रक्रिया केही समय रोकिएको थियो । कार्यालयका अनुसार मुद्दा नभएका सात वटा घरटहरा हटाएर करिब छ कठ्ठा जग्गा खाली गरिएको छ । खाली गराइएको जग्गामा माछाको आहारका लागि उन्नत घाँस तथा केरा खेती गरिएको जनाइएको छ । उच्च अदालतबाट मुद्दा खारेज भएपछि अतिक्रमित जग्गा खाली गराउने काम पुनः अघि बढाइएको कार्यालयले जनाएको छ ।
माछा उत्पादन गर्ने उद्देश्यले २०२४ सालमा स्थापना भएको केन्द्रमा माछा र माछाको भुरा उत्पादन गरिनुका साथैँ घाँस तथा केरा खेती समेत गरिएको छ । ४७ हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रको हावापानी समशितोष्ण रहेकाले यहाँ विभिन्न प्रजातिका चराहरु पनि आउने गरेका छन् । संघ, संस्था , क्लव र मानिसहरुले केन्द्रको सरकारी जग्गा अतिक्रमण गर्दा यो साँघुरो हुँदै गएको छ ।


अनिल पराजुली 









प्रतिक्रिया दिनुहोस्