हेटौंडा । हेटौंडा–४, मकवानपुरमा रहेको जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको शनिवार १५ औं बार्षिक साधारण सभा भएको छ ।

साधारण सभा कार्यक्रममा ज्येष्ठ शेयर सदस्य नरबहादुर राई, असल बचतकर्ता निला सुवेदी, असल ऋणी रीता रिजाल, उत्कृष्ट बाल बचतकर्ता लमिन बल लामा र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।

त्यस्तै संस्थाको सिमेन्ट व्यवसायमा अधिक सिमेन्ट खरिद गर्ने भिजन कन्स्ट्रक्सनका सञ्चालक भरत सापकोटा, शेयर सदस्यमा वृद्धिमा उत्कृष्ट सहयोग गर्ने सञ्चालक सदस्य भरतकुमार भण्डारी र निवर्तमान अध्यक्ष महेशकुमार सिग्देललाई संस्थाले सम्मान गरेको थियो ।

जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष वसन्तराज गौतमको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै घलानले चाडपर्व नजिकिदै गर्दा कालोबजारी पनि बढ्ने भएकोले गर्दा सहकारीले सर्वसुलभ दरमा सेवा प्रदान गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका राजकुमार केसी, संस्थाका सल्लाहकार शिवप्रसाद बन्जरालगायतको आतिथ्यता रहेको थियो ।

६९४ जना शेयर सदस्य आवद्ध रहेको संस्थाको शेयर पुँजी १ करोड ८९ हजार ५ सय रुपैयाँ रहेको छ भने कुल बचत ३ करोड ८३ लाख ८४ हजार रुपैयाँ रहेको संस्थाका अध्यक्ष वसन्तराज गौतमले जानकारी दिए ।