हेटौंडा । नेपाल शिक्षक महासंघ मकवानपुरले आइतबार हेटौंडा उपमहानगरपालिकामा धर्ना दिएको छ । महासंघले प्रस्तावित विद्यालय शिक्षा ऐनको विरोध गर्दै आइतबार तीन घण्टा उपमहानगरपालिकाको कार्यलय परिसरमा धर्ना दिइएको हो ।

पूर्वघोषित कार्यक्रम अन्तर्गत शिक्षक महासंघमा आवद्ध शिक्षक संगठनका प्रतिनिधिहरुले आइतबार विहान ११ बजेदेखि २ बजेसम्म मकवानपुरका सबै पालिकामा र हेटौंडा उपमहानगरको गेटमा धर्ना दिनुका साथै सरकार र शिक्षक महासंघबिच भएको ५१ बुँदे र ३० बुँदे सहमतिको प्रतिलिपि हेटौंडाका नगर प्रमुख मिना कुमारी लामालाई बुझाएको शिक्षक संघ मकवानपुका अध्यक्ष.गणेश हुँमागाईले जानकारी दिएका छन् ।

धर्नाका क्रममा नगर प्रहरीसँग घम्साघम्सीनै परेको शिक्षक संघ मकवानपुरका सचिव श्रीराम लुईटेलले बताएका छन् । नगरपालिकाको मुख्य गेटमा धर्नामा रहेका शिक्षकहरुलाई नगरप्रहरीले हटाउन खोजेपछि घम्साघम्सी भएको लुईटेलले बताए । त्यसैगरी आन्दोलन अन्तर्गत मंगलबार ३० गते पनि धर्ना कार्यक्रम रहेको शिक्षक महासंघले जनाएको छ भने साउन ३२ गते भने प्रदेश स्तरिय महासंघका पदाधिकारी तथा प्रतिनिधी सहित सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा सहमती कार्यान्वयन गर्न माग गर्दै सहमतीको प्रतिलिपि बुझाउँने कार्यक्रम रहेको हुँमागाईले बताए ।