हेटौंडा । बीउ बिजन प्रयोगशाला हेटौंडाले दुईसय दशमलव ६८ मेक्ट्रिक्टन बीउ प्रमाणिकरण गरेको छ । गत आर्थिक बर्षमा बागमती प्रदेशका जिल्लाबाट आएका खाद्यान्न, तेलहन र दलहनको बीउ प्रमाणिकरण गरिएको हो ।

चितवन, धादिङ, काभ्रे, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुरमा उत्पादन भएको धान, गहुँ, मकै, तोरी, मुसुरो, कोदो, भटमास लगायतको वालीको वीउ बिजन प्रयोगशालाले बीउ सिफारिस र प्रमाणिकरण गर्दै आएको बीउ बिजन प्रयोगशाला हेटौंडाका सूचना अधिकारी सिर्मला योन्जनले बताइन् । उनले उमार शक्ति, चिस्यान र बीउको शुद्धताको आधारमा प्रमाणिकरण गर्ने गरेको बताइन् । “बालि अनुसार फरक–फरक मापदण्ड हुन्छ, बीउको खडावाली, रोग किरा लागे नलागेको, सम्बन्धित स्थानमा गएर मूल बीउ र प्रमाणिक बीउको नमूना ल्याएर प्रयोगशालामा शुद्धता, उमार शक्ति हेरेपछि मापदण्ड पूरा भएका वीउलाई प्रमाणिकरण गर्ने गरेका छौं,” उनले भनिन् ।

चितवन, मकवानपुर, धादिङ र काभ्रेमा धान, मकै, गहुँ, तरकारी र जै घाँसको बीउविजनमा आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिएको छ । बीउ बजार प्रवद्र्धन तथा सहयोग कार्यक्रम, बीउ स्रोत केन्द्र स्थापना, गुणस्तर नियन्त्रण तथा नियमन गर्ने लगायतका कार्य हेटौँडा कार्यालयले गर्दै आएको छ । प्रदेशमा सबैभन्दा धेरै बीउ विजन उत्पादन गर्ने जिल्ला चितवन रहेको छ भने सबैभन्दा न्यून रसुवा छ ।

बागमती प्रदेशमा मुल/श्रोत बीउ उत्पादनका लागि १६ वटा संस्थाहरुले इजाजत लिई बीउ उत्पादन तथा व्यवस्थापन सम्बन्धि कार्य गर्दै आएका छन् । जसमध्य सरकारी, नीजि कम्पनी, सहकारी संस्था, कृषि समूह, गैर सरकारी संस्था र विश्वविद्यालयले स्रोत बीउ उत्पादनका लागि इजाजतपत्र लिई कारोवार गरिरहेको बीउ बिजन प्रयोगशाला हेटौंडाले जनाएको छ । प्रदेशको ललितपुरमा ३, काठमाडौंमा ४, चितवनमा ६ र सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोटमा एक÷एक वटा मूल÷श्रोत बीउ उत्पादकहरु रहेका छन् ।

त्यस्तै उत्पादित स्रोत बीउको प्रशोधन प्रयोजनका प्रदेशमा २० वटा नीजि स्तरका कम्पनीहरु, अनुसन्धान केन्द्र, सरकारी कम्पनी, कृषि समूह, सहकारी, गैर सरकारी तथा विश्वविद्यालयले बीउ प्रशोधनगरी लट नम्बर राखेर बीउको बिक्री वितरण गर्ने गरेको बीउ बिजन प्रयोगशाला हेटौंडाको तथ्याङ्क छ । प्रदेशको चितवनमा १२, ललितपुरमा ३, मकवानपुरमा २ र काठमाडौं, नुवाकोट र दोलखामा बीउ प्रशोधन कम्पनीहरु रहेका छन् ।

बीउ बिजन ऐन तथा नियमावलीमा भएको व्यवस्था अनुसार नीजि स्तरमा बीउ परिक्षण गर्ने कार्य सञ्चालनका लागि प्रदेशमा ३ वटा कम्पनीले राष्ट्रिय बीउ विजन समितिबाट प्रयोगशाला सम्बन्धि इजाजत लिई कारोवार गरिरहेका छन् । ललितपुरको वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र
(सिप्रेड), काठमाडौंको सियान सीड सर्भिस सेन्टर र चितवनको भरतपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले बीउविजन प्रयोगशाला सञ्चालन गरिरहेका छन् ।

बागमती प्रदेशमा व्यवसायिक रुपमा मुख्य खाद्यान्न, दलहन, तरकारी बालीको गुणस्तरीय बीउ उत्पादन तथा प्रमाणिकरण हुने गरेको छ । हेटौंडामा रहेको प्रयोगशाला संगको समन्वयमा नियमित रुपमा बीउ उत्पादन तथा प्रमाणिकरण गर्ने गरिएको छ ।

कृषि उत्पादन बृद्धिको लागि उन्नत जानतको गुणस्तरयुक्त बीउको प्रयोग पूर्व सर्त भएको बताउँदै बीउ बिजन प्रयोगशाला हेटौंडाका सूचना अधिकारी योन्जनले गुणस्तरयुक्त बीउ एक आधारभूत, संवेदनशील सामाग्री भएकाले उत्पादकत्व तथा आर्थिक वृद्धिमा प्रभाव पार्ने बताइन । नेपालमा २० देखि २५ प्रतिशत उत्पादन वृद्धि गुणस्तरयुक्त बीउको कारणले हुनेगरेको तथ्याङ्क छ । नेपालमा कूल बीउको माग करिब ४५ हजार मेक्ट्रिकटन भएपनि ३८ हजार मेक्ट्रिक्टन मात्रै आपूर्ती भएको देखिन्छ । हाल नेपालमा करिव २२ प्रतिशत बीउ मात्रै औपचारिक क्षेत्रबाट आपूर्ति भैरहेको छ ।

अनिल पराजुली
थप जानकारी