हेटौँडा । हेटौँडा र काठमाडौं जोड्ने छोटो दूरीको प्रमुख प्रादेशिक सडक कुलेखानी–हुमाने–फर्पिङ सडकखण्ड अझै ११ दिन पूर्ण रूपमा बन्द रहने भएको छ । महालक्ष्मी खोलामा निर्माणाधीन पुल र सडक ढलानको काम सम्पन्न भए पनि नयाँ ढलान गरिएको कंक्रिटले आवश्यक मजबुती हासिल गर्न समय लाग्ने भएकाले असार २५ गतेसम्म सवारी आवागमनमा रोक लगाइएको हो।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुर र काठमाडौंलाई पत्राचार गर्दै असार २५ गतेसम्म सडक बन्द राख्न तथा वैकल्पिक मार्ग सञ्चालनमा आवश्यक समन्वय गर्न अनुरोध गरेको छ।

कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ४ को सिमानामा पर्ने महालक्ष्मी खोलाको पुल निर्माणको काम सम्पन्न भइसकेको जानकार दिए। यस्तै, सोही सडकखण्डको उकालो भागमा गरिएको कंक्रिट ढलानको काम पनि सकिएको भण्डारीले बताए। तर, प्राविधिक रूपमा कंक्रिटले तोकिएको मापदण्डअनुसारको मजबुती प्राप्त गर्न निश्चित समय लाग्ने भएकाले तत्काल सवारी सञ्चालन गर्न रोक लगाइएको उनको भनाइ छ।

‘महालक्ष्मी खोलामाथिको पुल निर्माण कार्य सकिएको छ भने पुलको दुबैतर्फको कंक्रिट ढलानको काम पनि सकिएको छ, उनले भने,’ तर, तत्काल सवारी सञ्चालन गर्दा सडकको गुणस्तरमा प्रतिकूल असर पर्न सक्ने भएकाले सडक पूर्ण रूपमा प्रयोगयोग्य नहुँदासम्म सवारी सञ्चालन स्थगित गर्ने निर्णय गरेका छौँ।’

यसअघि पूर्वाधार विकास कार्यालयले जेठ १५ गतेदेखि एक महिनाका लागि उक्त सडक पूर्ण रूपमा बन्द गरी हेटौँडा–काठमाडौं आवतजावत गर्ने सवारीसाधनलाई हेभी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडकमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाएको थियो । तोकिएको अवधिमा पुल निर्माण र सडक ढलानको काम सम्पन्न भएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख भण्डारीका अनुसार सडक साँघुरो हुनुका साथै नयाँ ढलान गरिएको भागलाई थप समय संरक्षण गर्नुपर्ने भएकाले असार २५ गतेसम्म वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था कायम रहनेछ । यस अवधिमा हेटौँडा–काठमाडौं आवतजावत गर्ने सम्पूर्ण सवारीसाधनलाई हेभी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक प्रयोग गर्न आग्रह गरिएको उनले बताए।

पूर्वाधार विकास कार्यालयका अनुसार असार २५ गतेपछि सडकको प्राविधिक अवस्था पुनः परीक्षण गरिनेछ। परीक्षणबाट कंक्रिटले आवश्यक मजबुती हासिल गरेको पुष्टि भएपछि मात्रै सडकमा नियमित सवारी सञ्चालन खुला गरिने जनाइएको छ।