हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ९ नम्बर वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा सुरु गरेको छ । नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएसँगै आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले नवनिर्मित कार्यालयको उद्घाटन गरेका हुन् । रत्नकुमारी एण्ड सन्स हेटौंडाले ७९ लाख ११ हजार ८३६ रुपैयाँ ६८ पैसा मा साढे २ तले भवन निर्माण कार्य सम्पन्न गरेको हो ।

स्थानीय दुवमाया कालाखेतीले आफ्नो स्वर्गीय श्रीमानको स्मृतिमा उपलब्ध गराएको एक कट्ठा १२ धुर जग्गामा वडा कार्यालय भवन निर्माण भएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । भवन निर्माणका लागि २०७६ माघ १ गते बोलपत्र आव्हान भएको थियो । एक करोड ३३ लाख ९० हजार रुपैयाँको स्टिमेट गरिएकोमा ८८ लाख ८५ हजार ६६ रुपैयाँ ८० पैसामा ठेक्का लागेको थियो ।

नवनिर्मित भवनको ६ वटा अफिस कोठासहित एउटा हल, गेष्ट रुम, किचन र शौचालय रहेको छ । वडा अध्यक्ष श्रेष्ठले नयाँ कार्यालय भवनबाट थप गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा जग्गादाता कालाखेतीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मनहरी ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेती, ९ नम्बरका निवर्तमान वडा अध्यक्ष साधुराम अधिकारी, वडा सदस्य गुप्तबहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।