हेटौंडा । हुप्रचौरमा सम्पन्न जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि बकैया गाउँपालिकाको महेन्द्र माविले हात पारेको छ ।

फाइनल खेलमा थाहा नगरपालिकाको सुन्दरीदेवी माविलाई सोझो सेटमा पराजित गर्दै महेन्द्र माविले उपाधि जितेको हो । महेन्द्र माविले सुन्दरीदेवी माविलाई २५–२१, २५–२३ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । उपाधिसँगै महेन्द्र माविले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सुन्दरीदेवी माविले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी महेन्द्र माविका रमेश परियार घोषित भएका छन् । रमेशले नगद ३ हजार रुपैयाँ पाएका छन् । यस्तै उत्कृष्ट स्पाइकरमा सुन्दरीदेवी माविका प्रकाश बहादुर चन्द र बेस्ट सेटर महेन्द्र माविका प्रकाश थापा मगर घोषित भएका छन् । उनीहरुले जनही २ हजार रुपैयाँ पाएका छन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १९ वटा विद्यालयको टिम सहभागिता रहेको थियो ।