हेटौंडा । मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविका ९३ जना बालबालिकालाई न्यानो ज्याकेट बितरण गरिएको छ । विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपालले बालबालिकालाई ज्याकेट उपलब्ध गराएको हो ।

मनहरी–४ का वडासदस्य दिनेश चेपाङ, विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, सहायक प्रअ सुशील गौतमलगायतले ज्याकेट बितरण गरेका हुन् । न्यानो ज्याकेट पाएपछि बालबालिकालाई नियमिति विद्यालय आउनका लागि अब समस्या नहुने वडासदस्य चेपाङले बताए । पुसको ठण्डीमा पनि सामान्य एउटा विद्यलाय पोशाकको भरमा बालबालिका विद्यालय आउने गरेका छन् ।

हेल्पकोड नेपालका कार्यक्रम संयोजक ईन्द्रप्रसाद पाण्डे, फिल्ड अधिकृत विकास चेपाङले वार्षिक कार्यक्रमबाट बचेको रकमबाट बालबालिकालाई ज्याकेट उपलब्ध गराइएको जानकारी दिए । यसअघि मनहरी–४ को सृजना प्राविका बालबालिकालाई पनि न्यानो ज्याकेट बितरण गरिएको र भोलि बिहीबार चेपाङ प्रावि र मनहरी–३ को नवज्योति प्राविका बालबालिकालाई पनि ज्याकेट बितरण गरिने हेल्पकोडका फिल्ड अधिकृत विकास चेपाङले जानकारी दिएका छन् ।