हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत बागमती प्रदेशभित्रका प्रहरी एकाईहरुको भवन निर्माण गर्न साढे २६ करोड रुपियाँभन्दा बढी बजेट दिएको छ ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारमा प्रवक्ता गङ्गानारायण श्रेष्ठले सोमबार हेटौँडामा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०-०८१ को हालसम्म गरेका गतिविधि र कार्यसम्पादन बारेमा जानकारी दिन आयोजित सञ्चारकर्मीहरुसँग साक्षात्कार कार्यक्रममा प्रहरीको सेवा प्रभावकारी बनाउन पूर्वाधार निर्माणलगायतका सहयोग गर्दै आएको बताए ।

उनले मन्त्रालयमार्फत चालु आर्थिक वर्ष २०८०-०८१ का लागि प्रदेशभित्रका १९ वटा क्रमागत र पाँचवटा नयाँ प्रहरी एकाई भवनको बहुवर्षीय सुनिश्चितापछि भवन निर्माणका लागि २६ करोड ५५ लाख रुपियाँ खर्च गर्ने गरी बागमती प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी एकाईहरुलाई अख्तियारी प्रदान गरिएको जानकारी दिए।

उहाँले यो अवधिमा निर्माण सम्पन्न भएको आठवटा प्रहरी भवनको उद्घाटन गरिएको भन्दै प्रदेशस्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी धुलिखेलमा सम्पन्न भएको बताए।

मन्त्री श्रेष्ठले चालु आर्थिक वर्ष २०८०।८१ मा मन्त्रालयको हालसम्मको प्रगतिको बारेमा जानकारी गराउँदै मन्त्रालय र मातहत निकायको संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण तयार स्वीकृत भई पद दर्तासमेत भएको बताए।

बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै स्थानीय तहको समन्वयमा मन्त्रालयमार्फत न्यानो फाइबर सिरक वितरण गरिएको उनले बताए।

कार्यक्रममा उहाँले मनसुनजन्य विपत् प्रभावित र आगलागीजन्य विपत् प्रभावितलाई निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि एक हजार ३३७ लाभग्राहीलाई तीन करोड १७ लाख १० हजार रुपियाँ प्रदान गरिएको जानकारी दिए।