हेटौँडा । हेटौँडा–६, गौरिटारमा निर्माणाधीन देशकै दोस्रो ठूलो रङ्गशालाको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले सोमबार निरीक्षण गरेका छन । मन्त्री महर्जनले गौरिटार रङ्गशालामा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका पूर्वाधारको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन ।

प्रदेश सरकारले कूल ५ अर्ब रुपैयाँ लगानीमा २१ वटा संरचना बनाउन लागेको छ । फुटबल रङ्गशाला निर्माणको काम भने लगभग अन्तिम चरणमा पुगेको प्रदेश खेलकुद परिषदले जनाएको छ । निर्माण कार्यलाई समयभित्रै सम्पन्न गर्न सम्बन्धित सबैलाई निर्देशन मन्त्री महर्जनले निर्देशन दिए । उनले निर्माणको क्रममा त्यसको गुणस्तरलाई विशेष ध्यान दिन निर्माण व्यवसायी कम्पनी, इन्जिनियर तथा प्राविधिकहरूलाई आग्रह गरे ।

गौरिटार परिसरमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी पौडी पोखरी निर्माण पनि भइरहेको छ । प्रदेश सरकारको ९ करोडको लागतमा २ वटा पौडी पोखरी निर्माणको काम भइरहेको छ । एउटा पोखरी अभ्यास र अर्को प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी निर्माण गर्न लागिएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेश खेलकुद परिषदका अनुसार गौरिटार रङ्गशालाको गुरुयोजना अनुसार कुल २१ वटा संरचना बनाउन लागिएको हो ।

साढे ५ अर्ब बजेटको गुरुयोजना अनुसार रङ्गशालाभित्र ९ वटा कभर्डहल, ८ वटा ट्रेनिङ सेन्टर, फिटनेस सेन्टर, होमस्टेलगायतका संरचना गरी २१ वटा संरचना बन्नेछ ।