हेटौँडा । हेटौँडा उपमहानगरपालिका–६, चौघडास्थित रानी सामुदायिक वनले वन संरक्षणसँगै लोपोन्मुख सालक संरक्षण, वन डढेलो नियन्त्रण तथा पर्यापर्यटन प्रवर्द्धनमा गरेको काम उदाहरणीय रहेको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले बताइन् ।
रानी सामुदायिक वनको आइतबार सम्पन्न ३०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नगर प्रमुख लामाले सामुदायिक वनले संस्थागत विकाससँगै महिला आर्थिक सशक्तीकरण र सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको बताइन् । वन संरक्षण तथा पर्यापर्यटनका क्षेत्रमा समूहले गरेको कामले अन्य सामुदायिक वनलाई समेत प्रेरणा दिएको उनको भनाइ थियो ।
साधारणसभामा समूहका अध्यक्ष केशव धितालले संस्थागत प्रतिवेदन, सचिव अमुना सापकोटाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोमा लामिछानेले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन तथा लेखा संयोजक राजकुमार फुयालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ६२ लाख रुपियाँको अनुमानित बजेटसमेत प्रस्तुत गरेको छ ।
साधारणसभाका अवसरमा ज्येष्ठ सदस्य गोपाल राई र सोमकुमारी दुलाल तथा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत राकेशप्रसाद चन्द्रवंशी, सबडिभिजन वन कार्यालय हेटौँडाका प्रमुख बच्चुराम सुवेदी र अनिरुद्रखबर डटकमका संवाददाता अनिल पराजुलीलाई सम्मान गरिएको थियो ।
त्यस्तै २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने सामुदायिक विद्यालयतर्फ सज्जित लामिछाने र प्रनिशा मानन्धर तथा संस्थागत विद्यालयतर्फ अनुसुया दाहाल र आयुष राईलाई पुरस्कृत गरिएको थियो । सालक उद्धारमा योगदान पुर्याउने उद्धारकर्तालाई समेत कार्यक्रममा पुरस्कृत गरिएको थियो ।
साधारणसभामा मकवानपुरगढी गाउँपालिका–३ का वडाध्यक्ष भागवत घिमिरे, वडा नं. ४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, वडा नं. ३ का सदस्य विदुर हुमागाईं, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाईं, बागमती प्रदेश कोषाध्यक्ष नानीमाया रुम्बालगायतको सहभागिता थियो । रानी सामुदायिक वनमा ८ सय ३७ घरधुरी आबद्ध रहेको कार्यालय सचिव भीमसेन पौडेलले जानकारी दिए।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्