हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले विकासको काममा वन बाधक बन्न नहुने बताएका छन् ।

वन तथा वातावरण हेर्ने निकाय र भौतिकि पूर्वाधार निर्माण गर्ने निकायबीच सधैं टकरावको स्थिति आइरहेको भन्दै दुवै निकायले आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिए । मकवानपुरको मनहरी गाउँपालिका–८ मा रहेको सिम्पानी देवकोट सामुदायिक वन उपभोक्ता समूहको २५ औं साधारणसभाको शनिबार उद्घाटन गर्दै राज्यमन्त्री प्रजाले वन तथा वातावरण पनि संरक्षण हुुने र विकासको काम पनि प्रभावित नहुने गरी सम्बन्धित निकायबीच सहकार्य गर्नुपर्ने बताए । कानुनी सबै प्रक्रिया पूरा गरेर काम अघि बढाउँदा पनि वन क्षेत्रबाट पूर्वाधार बनाउँदा अनावश्यक झन्झट आउने गरेको भन्दै उनले त्यस्तो समस्या उत्पन्न गराउनु नहुने भनाइ राखे ।

वन उपभोक्ता समूहका अध्यक्ष नारायण उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्य, मनहरी ८ का वडाध्यक्ष दिलबहादुर स्याङ्तान, समूहका सल्लाहकारहरु तेजराज उप्रेती, प्रकाश वर्तौला, रामहरि सुवेदी, वंगलामुखी महिला सहकारी संस्थाकी अध्यक्ष कमला मैनाली, नेपाली कांग्रेस मनहरी ८ का सभापति भीमसेन लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभाबाट गोपी ढकालको अध्यक्षतमा १९ सदस्यीय नयाँ समितिसमेत गठन गरिएको छ । जसको उपाध्यक्षमा नन्दकुमारी सञ्जेल, सचिव दिलमाया गिरी, सहसचिव रामप्रसाद वर्तौलालगायत रहेका छन् ।