हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले स्थानीयलाई कृषिमा आत्मनिर्भर बनाउन रैथानेबाली प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । रैथानेबाली लोप हुने लागेकाले यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । जसअन्तर्गत पालिकाभित्र सञ्चालित होटल, घरवास (होमस्टे), रेस्टुरेन्ट र खाजाघर सञ्चालकलाई कोदो र फापरको परिकार बनाउन तालिम दिन सुरु गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले पालिकालाई दूध, तरकारी तथा अन्नबालीमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याइएको जानकारी दिए । उनका अनुसार यसअघि गाउँपालिकाले सहकारीमार्फत किसानको कृषि उपज (तरकारी तथा फलफूल) संकलन र बजारीकरणको सुरुवात गरिसकेको छ । किसान क्रेडिट कार्डलगायतका विभिन्न नमुना कार्यक्रम पनि कार्यान्वयनमा छन् ।

सहकारीमार्फत अनाज खरिदबिक्री गत आवमै सुरुवात गरिएकोमा चालु आवमा तरकारी तथा फलफूलमा समेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम सुरु गरिएको कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए । गाउँपालिकामा यसवर्ष अनाज, तरकारी तथा फलफूल बजारीकरणमा ७ वटा सहकारी संस्था सूचीकृत भएकोमा कुर्ले कृषि सहकारी संस्थाले संकलन र बजारीकरणको काम थालिसकेको छ ।

गाउँपालिकाले धान, मकै, गहुँ, कोदो र फापरमा किसानलाई अनुदान दिने व्यवस्था पनि गरेको छ । यस्तो अनुदान दिने यो जिल्लाकै पहिलो पालिका हो ।

कान्तिपुरबाट ।