हेटौंडा । हेटौंडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद २०८० को प्रतीक चिन्हमा लोपोन्मुख वन्यजन्तु सालक अंकित गरिएकोमा सालक संरक्षण अभियानकर्मीहरु उत्साहित बनेका छन् ।

सालकको संरक्षणका लागि केही पहल गर्दै आइरहेका डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले वन्यजन्तु संरक्षणको बिषयलाई खेलक्षेत्रले पनि सम्बोधन गरेको भन्दै बागमती प्रदेश सरकारलाई धन्यवाद दिए ।

‘हामीले संरक्षणका लागि प्रचारात्मक काम गरेका थियौँ’, आचार्यले भने–‘सालक दिवसलाई साताब्यापी मनाउने र मकवानपुर जिल्लाको गौरवको जनाबरको रुपमा घोषणा गर्नेगरी हामीले थालेको कामलाई खेलक्षेत्रले पनि सम्बोधन गरेको छ, यसमा औधी खुसी लागेको छ ।’

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ । सालक संरक्षणका लागि बागमती प्रदेश सरकार, संघीय सरकारसहित गैरसरकारी निकायहरुमा पनि ध्यानाकर्षण हुँदै आएको छ ।

मकवानपुरमा बढी पाइने सालकको नाउँमा कतिपय ठाउँमा सालक पार्क स्थापना भएका छन् भने कतिपय स्थानमा सालकका मुर्ति समेत बनाएर राख्न थालिएको छ ।

के हो त सालक ?


सालक राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित स्तनपायी जनावरमा सुचिकृत छ । यसलाई आइयुसीएन, साइटिसले पनि सुचिकृत गरेको जनावर हो ।
–सालक मात्र एक यस्तो जनावर हो जुन बागमतीका १३ वटा जिल्लामा नै पाइन्छ । यो रसुवा देखि मकवानपुरसम्म र दोलखादेखि धादिङसम्म पाइने जनावर हो । त्यसैले मकवानपुरको मात्र होइन, बागमती प्रदेशकै गौरवको जनावरको रुपमा यो जीवलाई घोषणा गर्नुपर्छ भन्ने हाम्रो माग रहिआएको छ ।
–गैडा र बाघ चितवनमा मात्र, अर्को दुर्लभ रेड पाण्डा रसुवा र केहि हिमाली जिल्लाको हिमाली भेगमा मात्र पाइन्छ । तर सालक बागमती प्रदेशका सबै जिल्लामा पाइन्छ ।
–सालक प्रकृतिप्रेमी र वातावरणमैत्री जीव हो । यो किसानको साथी हो । मानव, अन्नबाली, अन्य घरपालुवा जनावर कसैलाई पनि यसले हानी गर्दैन । यसले केवल धमिरा कमिला मात्र आहारा बनाउँछ ।
–बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले यस पटक प्रदेशका सबै जिल्लामा सालक संरक्षणका लागि रकम बिनियोजन गरेको छ ।यसले पनि आगामी दिनमा सालक संरक्षणको अभियान अझ तीब्रताका साथ अघि बढ्ने बिश्वास लिएका छौँ ।
–प्रदेश गौरवको जनावर घोषणा गर्न सकिएमा कम्तिमा एउटा संरक्षित जनावरलाइ प्रदेश सरकारले अपनत्व लिँदा देशभरी नै संरक्षणको क्षेत्रमा असाध्य सकारात्मक संदेश जान्छ भन्ने हामीलाई लाग्छ । यसबारे प्रदेश सरकारको ध्यान जान जरुरी छ ।
–संसारमा ८ प्रकारका र नेपालमा २ प्रकारका सालक पाइन्छन् । चोरी र अवैध शिकारले सालकलाई ठूलो नोक्सानी गर्नेगरेको छ ।

यस पटकको दोश्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितमा संयोगले सालकलाई मस्कट बनाइएको छ । यो गज्जब संयोग हो ।

यो संयोगलाई सदुपयोग गरौ कि भन्ने लाग्छ । यो संयोगले सालक संरक्षण अभियानमा वन संरक्षणकर्मी, किसान, पत्रकार, जनप्रतिनिधिहरु, विद्यार्थीसँगै खेलाडीहरु जोडिन पुगेका छन । अब यो अभियानलाई अझ उचाईमा लैजानु जरुरी छ ।