हेटौंडा । लामो समयदेखि विद्युत महसुल नतिर्ने हेटौंडाका ६७ उद्योगसहित ५४२ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले पटक–पटक विद्युत महशुल बुझाउनका लागि ताकेता गर्दासमेत अटेर गरेकाले विद्युत लाइन काटेर ग्राहकको विवरण सार्वजनिक गरेको छ ।

केन्द्रले कालोसूचीमा पर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै आगामी असार मसान्तसम्म बक्यौता भुक्तानी गरे १० प्रतिशत छुट दिने समेत घोषणा गरेको छ ।

केन्द्रका अनुसार कालोसूचीमा पर्नेमा ग्राहथ्यतर्फ ४६४, व्यापारिकतर्फ तीन, औद्योगिकतर्फ ६७, सिँचाइतर्फ एक, गैरव्यापारिकतर्फ दुई, यातायाततर्फ तीन र खानेपानीतर्फ दुई ग्राहक रहेको केन्द्रका इन्जिनियर सन्तोष चौहानले जानकारी दिए । कालोसूचीमा परेकाबाट केन्द्रले रु ९२ लाख ४७ हजार आठ सय ८८ असुल गर्नुपर्ने छ ।

त्यसैगरी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पालुङ्ग मकवानपुरले महशुल नतिर्ने ९७ ग्राहकलाई कालोसूचीमा राखेको छ । केन्द्रका प्रमुख वीरमान वास्कोटीले उनीहरूबाट रु एक करोड रकम उठ्न बाँकी रहेको बताए ।