एजेन्सी । बहराइनमा विपक्षी उम्मेदवारविना नै मतदान सम्पन्न भएको छ । हिजो सम्पन्न मतदानमा सुन्नी वंशको शासन रहेको राजतन्त्रात्मक देशले आफ्ना दुई प्रमुख विपक्षी समूह शिया अल–वेफाक र धर्मनिरपेक्षवादी वाद पार्टीलाई उम्मेदवार उठाउन रोकेको थियो । यसको आलोचना भइरहेको छ ।

मतदानमा विपक्षी दुई दललाई सहभागी हुन रोक लगाएपछि मतदानको कुनै अर्थ नरहेको भन्दै मानव अधिकारवादी समूहले चर्को आलोचना गरेका छन् । उम्मेदवारमाथि प्रतिबन्ध लगाउनुको अर्थ चुनावमा बहुपक्षीय सहभागिता दुरूत्साहन गरेको प्रष्ट देखिएको अधिकारवादी समूहको भनाइ छ ।

सन् १९९९ को मार्चमा आफ्ना पिताको निधनपछि शासन गर्दै आएका राजा हमाद बिन इसा अल–खलिफालाई सल्लाह दिने संसद्को तल्लो सदन ४० सदस्यीय प्रतिनिधि परिषदमा ७३ महिलासहित ३ सय ३० भन्दा धेरै उम्मेदवार प्रतिस्पर्धामा छन् । यो मतदानले कुनै परिवर्तन नल्याउने बेलायतमा रहेको बहराइनका मानव अधिकारकर्मी अली अब्दुलेमामको भनाइ रहेको समाचार संस्था एएफपीले जनाएको छ ।