एजेन्सी । दक्षिण कोरियाको सरकारले हप्तामा ५२ घण्टा काम गर्न पाउने निमयलाई परिवर्तन गरेर ६९ घण्टा पुर्याउने भएको छ ।

कोरियाली सरकारले हिजो प्रस्तुत गरेको नयाँ नियमअनुसार कम्पनीले चाहेमा अब कामदारहरुलाई हप्ताको ६९ घण्टासम्म काम लगाउन सक्ने व्यवस्था भएको एएफपीले जनाएको छ । यसअघि ४० घण्टा नियमित र १२ घण्टा ओभरटाइम गरी ५२ घण्टा काम गर्न पाउने व्यवस्था थियो ।

सन् २०२१ देखि पूर्ण रुपमा लागू भएको ५२ घण्टे व्यवस्थालाई राेजगारदाता कम्पनीहरुले विरोध गरेपछि सरकारले बढाएको हो । अब कम्पनीमा धेरै काम हुँदा दिनमा १३ घण्टासम्म र हप्तामा ६९ घण्टासम्म काम लगाउन सक्नेछन् ।

नियममा कामदारले दिनको ११ घण्टा आराम अनिवार्य गरिने उल्लेख छ । नयाँ नियमअनुसार कम्पनीहरूले साप्ताहिक मात्र नभइ मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक आधारमा ओभरटाइम व्यवस्थापन गर्न पनि सक्नेछ ।

नयाँ नियमअनुसार कामको व्यवस्थापन गर्दा कामदारसँग पनि कामको अवधिबारे सम्झौता हुनुपर्ने व्यवस्था छ ।  कोरियामा अहिले १६ वटा देशबाट ईपीएसमार्फत् झन्डै चार लाख कामदार काम गरिरहेका छन् । रोजगारदाताहरुले सरकारको नियमलाई स्वागतयोग्य भनेका छन् भने ट्रेड युनियनहरुले रोजगारदातालाई फाइदा हुने गरी ल्याएको नियम भन्दै विरोध गरेका छन् ।