हेटाैडा। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको निर्माणमा प्रगति नदेखेपछि ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

घिसिङले शनिबार सबस्टेसनको अनुगमन भ्रमण गरेका थिए । कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सबस्टेसनको निर्माण प्रगतिका विषयमा जानकारी लिएका थिए । गत फागुनको अन्तिम साता पनि अनुगमन भ्रमणमा गएका घिसिङ २२० केभी सबस्टेसन निर्माणमा कुनै प्रगति नदेखिएपछि आक्रोसित बने ।

त्यतिबेला ठेकेदार कम्पनीहरुले आगामी असारभित्र सबस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । तर, प्रतिबद्धता विपरीत निर्माणस्थलमा कुनै प्रगति नदेखिएपछि आक्रोसित बनेका घिसिङले ठेकेदार कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिए ।

उनले सबस्टेसन निर्माणस्थलबाटै निर्माणको ठेक्का लिएका भारतीय कम्पनीहरु सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमका पदाधिकारीहरुलाई फोन गरी तोकिएको समयमा सम्पन्न नगरे जरिवाना तिराउने चेतावनी दिए । खबरडबलीबाट