हेटौँडा । मकवानपुरगढी गाउँपालिका–३ मक्राञ्चुलीस्थित श्रमिक साना किसान कृषि सहकारी संस्थाको वार्षिकोत्सव तथा १४औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष निर्मला कुमारी लम्सालले संस्थागत प्रतिवेदन र लेखा संयोजक राधिका सापकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाका अवसरमा ज्येष्ठ सदस्य, उत्कृष्ट बाल बचतकर्ता, वृद्ध बचतकर्ता र असल ऋणीलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका प्रमुख प्रशिक्षण प्रशिक्षक एकराज उप्रेती, मकवानपुरगढी गाउँपालिका–३ का वडाध्यक्ष भागवत घिमिरे, वडा नं. ४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, पशु सेवा कार्यालय मकवानपुरका प्रमुख रामप्रकाश प्रधान, मकवानपुरगढी गाउँपालिका सहकारी शाखा प्रमुख सूर्यबहादुर गुरुङ, मनकामना दुग्ध सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहाल, जागरण साकोसका अध्यक्ष शत्रुघन दुलाल र सिर्जनशील समाज साकोसका अध्यक्ष कृष्ण बिडारीलगायतको आतिथ्यता रहेको थियो ।
सहकारीका व्यवस्थापक गीता लम्सालका अनुसार संस्थामा एक हजार ६८५ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी एक करोड ८१ लाख रुपियाँ, निक्षेप १३ करोड १५ लाख रुपियाँ र ऋण लगानी २५ करोड १४ लाख रुपियाँ रहेको छ । त्यसैगरी साना किसान बैङ्कबाट लिएको ऋण १० करोड पाँच लाख रुपियाँ रहेको उनले जानकारी दिए ।


भीमसेन पौडेल 








प्रतिक्रिया दिनुहोस्