हेटाैँडा । नेपाल ज्योतिष परिषद्को २८औँ स्थापना दिवसको अवसरमा हेटौँडास्थित संस्कृत वेद विद्यालय (हेटौँडा गुरुकुल) मा अध्ययनरत ३२ जना वेदपाठी विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। बिहीबार एक औपचारिक कार्यक्रमबीच सामाग्री प्रदान गरिएको हो।

कार्यक्रम नेपाल ज्योतिष परिषद् मकवानपुरका अध्यक्ष ध्रुवप्रसाद सापकोटाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा परिषद्का केन्द्रीय सदस्य गणेश धिताल प्रमुख अतिथि तथा केन्द्रीय सदस्य होमनाथ न्यौपाने र संस्कृत वेद विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापा विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा परिषद्का पदाधिकारी, सदस्यहरू, विद्यालयका शिक्षक–कर्मचारी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

नेपाल ज्योतिष परिषद्मकवानपुरको तर्फबाट विद्यालयलाई ९ दर्जन (१०८ थान) कापी तथा ३२ प्याकेट कलम प्रदान गरिएको परिषद्का सचिव जिवराज बख्रेलले जानकारी दिए। परिषद्ले आगामी दिनमा पनि सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा वक्ताहरूले गुरुकुल शिक्षाको संरक्षण र प्रवर्द्धनमा यस्ता सहयोगात्मक पहल महत्वपूर्ण हुने धारणा राखे। प्रमुख अतिथि गणेश धितालले नेपाल ज्योतिष परिषद् सञ्चालन गर्दै आएका शैक्षिक तथा सामाजिक गतिविधिहरूले संस्कृत शिक्षा र गुरुकुल परम्पराको संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याइरहेको बताए। उनले ज्योतिषशास्त्र अध्ययनमा रुचि राख्ने युवाका लागि निःशुल्क ज्योतिष प्रशिक्षण सञ्चालन गर्ने योजना परिषद्को रहेको जानकारी गराए। उक्त प्रशिक्षणमार्फत गुरुकुलका विद्यार्थी तथा इच्छुक युवालाई व्यवहारिक र शास्त्रीय ज्ञान प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको पनि उनले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले प्राप्त सहयोगले विद्यालयको शिक्षण गतिविधि अघि बढाउन मद्दत पुग्ने उल्लेख गर्दै परिषद्प्रति आभार व्यक्त गरे। यस्तो सहयोगले आगामी दिनमा विद्यालयका कार्यक्रमहरू अझ प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास उनले व्यक्त गरे।

सभाध्यक्ष सापकोटाले नेपाल ज्योतिष परिषद् सेवामुखी संस्था भएकाले शिक्षा, संस्कार र संस्कृतिको प्रवर्द्धनका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाए।