साथीभाइ र आफन्तहरू आउँदा शरण खुशी हुन्थ्यो। शरण फरासीलो थियो। सँगै बस्थ्यो,कुराकानि गर्थ्यो र चियाखाजा खुवाउँथ्यो। त्यसैले शरणको घर, साथीभाइ जम्मा हुने थलो बनेको थियो।शरणको माताको मृत्यु भएपछि बाबाले अर्को बिवाह गर्नुभएको थियो। सौतिनीआमा भएपनि शरणलाइ आफ्नै आमाले भन्दा बढी माया गर्नुहुन्थ्यो। शरणले यतिबिघ्न मायापाएको देखेर यो लेखकचाहीं इर्ष्या गर्थ्यो। किनभने हाम्रो घरमा सन्तानलाइ मायागर्ने चलन-परम्परा थिएन र हाम्रा नातेदारहरूमा समेत् हामी केटाकेटीहरूलाइ माया गर्दैनथे। तर शरणको घरमा मायालु बातावरण पाएर हामी आकर्षित र प्रभावित हुन्थ्यौं। जवकि हामी उपाध्याय ब्राह्मण परिबारका थियौं र नाताकुटुम्बहरु पनि सबै ब्राह्मण नै थिएभने शरणको परिबार थिङ तामाङ थिए। हामी ब्राह्मण भनाउँदाहरू यति सङ्कीर्ण थियौं कि अहिले सम्झँदा पनि उकुसमुकुस हुन्छ। तर, तामाङहरू कति सरल, सहज र मायालु भनेर छक्क पर्थ्यौं र दङ्गदास हुन्थ्यौं।
एकदिन धेरैजना साथीहरू (हामीहरू) शरणको घरमा गएका थियौं। त्यसदिन नौलो ब्यक्ति पनि आइपुग्नुभएको रहेछ। हामीमध्ये एकजनाले परिचय गराउने ध्येयले शरणको आमालाइ देखाउँदै, “उहाँ शरणको ‘सौतिनीआमा’ ” भनेर ती नवागन्तुकलाइ चिनायो। शरणको घरमा ‘सौतिनी’ शब्द कहिल्यै प्रयोग हुँदैनथ्यो र सौतिनी ब्यवहार पनि हुँदैनथ्यो। हाम्रो साथीले, बाहुनको सङ्कीर्णता जनाउँदै, ‘सौतिनी’ शब्द प्रयोग गरिदिंदा त्यहाँ निकै असहज भएको थियो। एउटा अजङ्गको प्रश्न त्यहाँ खडा भयो – जहाँ मातृत्व ओतप्रोत छ, त्यहाँ ‘सौतिनी’ शब्दको जरुरत छ र ?
प्रतिक्रिया दिनुहोस्