हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० का लागि बजेटको आकार बढेको छ । उपमहानगरपालिकाको बिहीबार भएको १२ औं नगरसभाले चालू आर्थिक वर्षको बजेट संशोधन गर्दै ३ अर्ब ५ करोड बजेट पुर्याएको हो ।

संशोधन बजेट बिहीबारको नगरसभाले सर्वसम्मत स्वीकृत गरेको छ । उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि ११ औं नगर सभाबाट २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बजेट स्वीकृत गरेको थियो । नगरसभा बैठकमा नगर सभाका उपाध्यक्ष उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले प्रस्तुत गरेको २०७९/०८० को नीति तथा कार्यक्रम एवं बजेट माग र आवश्यकताका आधारमा समीक्षासहित वृद्धिको प्रस्ताव गरिएको थियो ।

सरकारी कर्मचारी, आन्तरिक करार कर्मचारीको तलब भत्ता सञ्चालन खर्च, नगर कार्यपालिकाबाट निर्णय भएका कार्यक्रम खानेपानी न्यूनतम महसुल भुक्तानी, इन्जिनियरिङ कलेज सञ्चालनसहित माग भई आएका थप बजेट र अन्य आवश्यक कार्यक्रमका लागि आन्तरिक स्रोत व्यवस्थापन गरी संशोधन बजेट ३ अर्ब ५ करोड पुर्याइएको छ ।

उपमहानगरले चालू आर्थिक वर्षको अहिलेसम्मको अवधिमा आयतर्फ संघीय सरकार समानिकरण तथा सशर्त अनुदानतर्फ ५५ करोड ४६ लाख ६ हजार, प्रदेश सरकार समानिकरण तथा सशर्त अनुदानतर्फ ३७ करोड ५० हजार, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटतर्फ ६ करोड ७ लाख ६८ हजार र आन्तरिक स्रोत कर, राजश्व स्रोत र गत वर्षको समेत गरी ८७ करोड ८७ लाख ८ हजार आम्दानी गरेको नगरसभाका उपाध्यक्ष बानियाँले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

उपमहानगरको खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १७ करोड ५८ लाख ६४ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ८० लाख ५२ हजार, पूर्वाधार विकासतर्फ १३ करोड ६९ लाख ९२ हजार, सामाजिक विकासतर्फ ३० करोड ७४ लाख १२ हजार, आर्थिक विकासतर्फ २ करोड ४० लाख ६४ हजार समेत गरी कुल ६६ करोड २३ लाख ८५ हजार रुपैयाँ रहेको जनाइएको छ । पछिल्लो छ महिनाको अवधिमा अधिकांश क्षेत्रगत आयोजना तथा कार्यक्रमहरू सम्झौता भई कार्यान्वयनको क्रममा रहेकाले खर्च भुक्तानी नभइरहेको हुँदा क्षेत्रगत खर्चमा कमी देखिएको प्रतिवेदनमा उल्लेख छ । आउँदो असार समन्तसम्मको अवधिमा खर्च विवरणमा उल्लेख्य प्रगति हुने बताइएको छ ।

नगरसभामा प्रस्तुत प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको स्वीकृत २५८ योजनामध्ये ४८ वटा सम्पन्न भएको र २१० वटा सम्झौता भई कार्यान्वयनको चरणमा रहेका छन् । गत आर्थिक वर्ष २०७८/०७९ मा जिम्मेवारी सरेर आएका योजनामध्ये ८४ वटा सम्पन्न भएका छन् । पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगतितर्फ प्रथम चौमासिकमा कंक्रिट सडक ३ किलोमिटर, कल्र्भट ४ वटा,  शैक्षिक पूर्वाधारतर्फ १, गुम्बा निर्माण ३, मन्दिर निर्माणमा १० र ४ वटा पार्क निर्माण सम्पन्न भएको छ ।

सडक पूर्वाधारतर्फ ५६ र अन्य १८ वटा योजना सम्पन्न भई सडकतर्फ ८ किलोमिटर स्ल्याब ढलान सम्पन्न भएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । नगर सभाले हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य सेवा विधेयक २०७९, हेटौंडा उपमहानगरपालिका प्रज्ञा प्रतिष्ठान विधेयक २०७९ सर्वसम्मत पास गरेको छ भने केही ऐनलाई परिमार्जन गरी पास गरेको छ ।

त्यस्तै नगरसभाले गत मंसिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका सांसदहरूलाई हेटौंडा उपमहानगरपालिकाले सम्मान गरेको छ ।  उपमहानगरपालिकाको विकासका लागि ऐक्यबद्धता खोज्दै आयोजना गरेको स्वागत तथा सम्मानमा प्रतिनिधिसभा सदस्य महेशकुमार बतौंला, प्रदेश सभा सदस्यहरू इन्द्रबहादुर बानियाँ, प्रेमबहादुर पुलामी छिन्तु, एकालाल श्रेष्ठ, भारती पाठक र लक्ष्मीकुमारी श्रेष्ठ लगायत सहभागी थिए ।

उनीहरूले सुन्दर र स्वच्छ हेटौंडा निर्माणका लागि सदैव सहकार्य र सहयोग रहने प्रतिबद्धता जनाएका थिए । निर्वाचित जनप्रतिनिधिहरूलाई उपमहानगरका मेयर मिनाकुमारी लामा, उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले खादा तथा माला लगाएर स्वागत सम्मान गरेका हुन् ।