माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश हेटौँडाका प्रमुख डा.जनार्दन खड्का प्रयोगशालामा माटो परीक्षण गर्दै । तस्विर अनिल पराजुली\हेटौँडा
माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश हेटौँडाका प्रमुख डा.जनार्दन खड्का प्रयोगशालामा माटो परीक्षण गर्दै । तस्विर अनिल पराजुलीहेटौँडा

हेटौंडा । बागमती प्रदेशको करिव ७० प्रतिशत माटोमा अम्लीयपनको समस्या रहेको पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश हेटौँडाले माटो परीक्षणका क्रममा यस्तो पाएको कार्यालय प्रमुख डा.जनार्दन खड्काले जानकारी दिए ।

बागमती प्रदेशको माटो परीक्षणका क्रममा माटोमा ५० प्रतिशत प्राङ्गारिक पदार्थको कमी, वर्षातको पानी, माटो बन्ने पैतृक चट्टान र मानवीय व्यवस्थापनका कारण माटोमा अम्लीयपनको समस्या बढ्दै गएको उनले बताए । काठमाडौँ उपत्यका सहित व्यवसायिक तरकारी, कृषि खेती हुने जिल्लाहरु काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको समस्या बढी पाईएको उनले बताए ।

प्रयोगशाला, घुम्ती शिविर र डिजिटल स्वाईल म्यापिङ्गमार्फत ६ हजार २९९ माटोको नमुना परीक्षण मार्फत प्रदेशका अधिकांश माटोमा अम्लीयपनाको समस्या पाईएको छ । गत आवमा प्रयोगशाला मार्फत एक हजार नमुना परीक्षण गर्ने लक्ष्य लिइएकोमा एकहजार ३२२, घुम्ती शिविर मार्फत चार हजार ३५२ र डिजिटल स्वाईल म्यापिङ्ग मार्फत ६२५ माटोको नुमना परीक्षण भएको तथ्याङ्क छ ।

स्थानीय तहसँगको समन्वयमा प्रदेशका सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र मकवानपुर जिल्लामा डिजिटल म्यापिङ्ग गरिएको थियो । स्थापनाकालदेखि हालसम्म सबैभन्दा धेरै गत आवमा माटोको नमुना संकलन र परीक्षण भएको कार्यालय प्रमुख खड्काले बताए ।

अम्लीयपन घटाउन किसानलाई निःशुल्क चुन वितरण
प्रदेशका विभिन्न जिल्लाका माटोहरु परीक्षणका क्रममा माटोमा अम्लीयपन पाइएपछि माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेशले किसानलाई चुन वितरण गरेको छ । माटोको गुणस्तर सुधार कार्यक्रम अन्र्तगत किसानलाई निःशुल्क एकसय ५ मेक्ट्रिक्टन कृषि चुन उपलब्ध गराईएको हो ।

काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र चितवनको पालिकामा माटो परीक्षण गरेर प्रत्येक पालिकालाई २१ मेक्ट्रिक्टन कृषि चुन कार्यालयले उपलब्ध गराएको हो । माटो परीक्षण पश्चात माटोको अम्लीयपनको आधारमा आवश्यक कृषि चुन निःशुल्क वितरण गरिएको थियो । सो कृषि चुनका लागि ९ लाख ८१ हजार खर्च भएको थियो ।

५९ किसान लाभान्वित
गत आवमा जिवाणु मलको प्रयोग र भकारो सुधार कार्यक्रमबाट दुई जिल्लाका ५९ जना किसान लाभान्वित भएका छन । काठमाडौँको दक्षिणकाली नगरपालिकामा भकारो सुधार कार्यक्रमबाट १४, जिवाणु मलको प्रयोगबाट १२ जना किसान लाभान्वित भएकोे माटो तथा मल परीक्षण प्रयोगशालाकी माटो विज्ञ लक्ष्मी दाहालले बताइन् ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भकारो सुधार कार्यक्रमबाट १७ र जिवाणु मलको प्रयोगबाट १६ जना किसान लाभान्वित भएको उनले बताइन् । भकारो सुधार कार्यक्रम मार्फत दश हजार र जिवाणु मलको प्रयोग कार्यक्रम अन्र्तगत प्रोत्साहन स्वरुप प्रति किसान पाँच हजारका दरले प्रदान गरिएको थियो । माटोको गुणस्तर सुधार कार्यक्रम अन्र्तगत सञ्चालन भएको जिवाणु मलको प्रयोग र भकारो सुधार कार्यक्रम वापतको रकम सिधैं किसानको व्यक्तिगत खातामा उपलब्ध गराईएको थियो ।

त्यस्तै डिसेम्बर ५ मा विश्व माटो दिवसको अवसरमा ललितपुरको गोदावरी नगरपालिकाको बज्रवाराहीमा मोवाईल भ्यानमार्फत ३०३ वटा माटोको नमुना परीक्षण गरी १५ दशमलव ३ मेक्ट्रिक्टन कृषि चुन पनि उपलब्ध गराइएको कार्यालय प्रमुख खड्काले जानकारी दिए ।

चार लाख ३८ हजार राजश्व संकलन
बितेको आर्थिक बर्षमा माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश हेटौँडाले माटो परीक्षण गरेबापत चारलाख ३८ हजार ५२० राजस्व संकलन गरेको छ । सरकारी कार्यालय वा सरकारी स्वामित्व रहेका स्थानहरुबाट आएका नुमना विश्लेषण कार्यालयले निःशुल्क गर्दै आएकोमा कृषक आफैंले ल्याएको नमुना विश्लेषण वापत २५ प्रतिशत र अध्ययन अनुसन्धान कार्यका लागि विद्यार्थी वा विश्वविद्यालयका सम्बन्धित अध्येताले अध्ययन केन्द्र वा विश्वविद्यालयको सम्बन्धित विभागले सिफारिस पत्र पेश गरेमा नमुनाको विश्लेषण शुल्कमा ५० प्रतिशत छुट दिने गरेको माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश हेटौँडाले जनाएको छ ।