हेटौंडा । वन तथा वातावरण मन्त्रालयको वनस्पति विभाग अन्तर्गत मकवानपुरमा रहेको वनस्पति अनुसन्धान केन्द्र वनस्पतिको अध्ययन गर्ने केन्द्र बन्दै गएको छ । यो केन्द्रमा वनस्पतिका प्रजाति, महत्व, विकासलगायत स्थलगत ज्ञान लिन आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो ।

रोयल क्यान्सर इन्स्टिच्युट चितवनबाट २९ जना विद्यार्थी सो केन्द्रमा औषधिजन्य, सुगन्धित जडीबुटी तथा वनस्पतिबारे अध्ययन र जानकारी हासिल गर्न आइपुग्नुभएको थियो । जडीबुटी र वनस्पति, सुगन्धित तेल प्रशोधनलगायतका विषयमा अनुसन्धान केन्द्रका वैज्ञानिक अधिकृत एवं सूचना अधिकारी अनिशकुमार कर्ण र वनस्पति सहायक सागिर हुसेनले विद्यार्थीलाई जानकारी गराएका थिए ।

विभिन्न विषयका विद्यार्थी वनस्पति अनुसन्धान केन्द्रमा ज्ञान हासिल गर्न पुग्ने गरेका छन । वन विज्ञान (फरेस्ट्री), वनस्पति विज्ञान (बोटानी) र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा अध्ययन गर्ने विद्यार्थी शैक्षिक भ्रमण, अध्ययन र घुम्नका लागि आउने गरेको सो केन्द्रका कार्यालय प्रमुख एवं वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले जानकारी दिए । वनस्पति उद्यान, नमुना संरक्षण, जीवित बिरुवा र विभिन्न नमुना सूचना केन्द्रमार्फत विद्यार्थीलाई जानकारी उपलब्ध गराउने गरेको उनले बताए ।

यहाँ आउने विद्यार्थीलाई बिरुवा पहिचान गर्न, बिरुवाको वैज्ञानिक नाम र वनस्पतिसम्बन्धी जानकारी प्रदान गर्न सहजीकरण गर्ने गरेको उनको भनाइ छ । “वनस्पति अनुसन्धान केन्द्र शैक्षिक र मनोरञ्जनको कबेन्द्र बन्दै गएको छ, पछिल्लो समय चितवन, काठमाडौँ र पूर्वका जिल्लाबाट विद्यार्थी वनस्पतिको अध्ययन गर्न र भ्रमणका लागि यहाँ आउने गरेका छन,” कार्यालय प्रमुख पराजुलीले भने ।

वार्षिक रूपमा अनुसन्धान केन्द्र भ्रमण गरेबापत तीन लाखभन्दा बढी राजस्व पनि सङ्कलन गरिएको छ । शैक्षिक अध्ययन र भ्रमणमा आउने विद्यार्थीबाट प्रतिव्यक्ति दस रुपियाँ शुल्क लिने गरिएको छ । कार्यालयको बजेट न्यून हुँदा आकर्षक र आवश्यक संरक्षण स्थल निर्माण गर्न नसकिएको कार्यालय प्रमुख पराजुलीको भनाइ छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, कुर्लेदमारमा रहेको वंशगोल माध्यमिक विद्यालयका ३९ जना विद्यार्थीलाई वनस्पति अनुसन्धान केन्द्रले जडीबुटी पहिचानसम्बन्धी जनचेतनामूलक कार्यव्रmम गरेको युगल अर्यालले जानकारी दिए ।

दुर्लभ वनस्पति ‘भोटेलहरा’
वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको नर्सरीमा दुर्लभ वनस्पति ‘भोटेलहरा’ नर्सरीका साथै संरक्षण गरिएको छ । मकवानपुरको बकैया गाउँपालिका–११, ठिंगन मा फेला परेको यो वनस्पति यहाँ संरक्षण गरिएको हो । वनस्पति जगतको निटेसी परिवारमा पर्ने ग्नेटम जातिको वनस्पतिका विश्वभर करिब ४० प्रजाति रहेको अध्ययनले देखाएका छन् । जसमध्ये नेपालमा पाइने प्रजाति ग्नेटम मोन्टानम हो । यसको स्थानीय नाम भोटेलहरा हो । यो दुर्लभ वनस्पतिको सूचीमा पर्छ  ।

गोरखापत्र दैनिकका लागि अनिल पराजुलीले लेख्नुभएको समाचार सामाग्री हामीले साभार गरेका हौं ।

अनिल पराजुली
थप जानकारी