राष्ट्रिय कृषिगणना–२०७८ को प्रदेशस्तरीय प्रतिवेदन सार्वजनिक गरिर्दै ।
राष्ट्रिय कृषिगणना–२०७८ को प्रदेशस्तरीय प्रतिवेदन सार्वजनिक गरिर्दै ।

हेटौंडा । राष्ट्रिय कृषिगणना–२०७८ को प्रदेशस्तरीय प्रतिवेदन सोमवार हेटौँडामा सार्वजनिक गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ, कृषि मन्त्रालयका सचिव राजेन्द्र कोइराला, राष्ट्रिय तथ्याङ्क कार्यालय उप प्रमुख तथ्याङ्क अधिकारी डिल्लीराज जोशीले संयुक्त रुपमा राष्ट्रिय कृषिगणना २०७८ को प्रदेशस्तरीय प्रतिवेदन सार्वजनिक गरेका हुन ।

प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले बागमती प्रदेशले तर्जुमा गरेको योजना केन्द्रीत रहेको बताउँदै बिस्तारै समिक्षा गर्दै अगाडि बढ्ने बताए । सार्वजनिक गरिएको तथ्याङ्क प्रतिवेदनहरुलाई आत्मसाथ गर्दै व्यवहार उतार्नुका साथैं त्यसमा भएका कमि कमजोरी सच्याएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । अंक थपघट ठुलो कुरा होइन, त्यसले पार्ने प्रभाव महत्वपूर्ण कुरा हो, मन्त्री श्रेष्ठले भने ।

धेरै भन्दा धेरै परिणम महत्व जनताहरुको रोजगारी, आय र आत्मनिर्भरका कुराहरुलाई जोड्दै जानुपर्ने उनले बताए । धेरै भन्दा धेरै जनतालाई आफ्नै थातथलोमा कृषिमा टिकाउने लक्ष्य रहेको बताउँदै पुरानो प्रविधि नभई नयाँ प्रविधिबाट थोरै जमिनमा धेरै उत्पादन गर्ने बिषयलाई प्राथमिकता दिने उनको भनाइ छ । किसानले समयमा मल बीउ नपाउने बर्षेनीको समस्या रहेकाले अबका दिनमा त्यस्ता समस्या समाधान गर्न मन्त्रालय सचेत भएर लाग्ने उनले बताए । उनले प्राङ्गारिक मलको प्रयोगलाई बढाउनुभपर्नेमा जोड दिए ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्री कुमार कार्कीले राष्ट्रिय कृषिगणना २०७८ को प्रतिवेदनमा समेटिएका प्रमुख नतिजाको प्रस्तुती गरेका थिए । उनको प्रस्तुतिमा नेपाल, बागमती प्रदेश र मकवानपुर जिल्लाको कृषिगणनाको प्रतिवेदन रहेको थियो ।

प्रतिवेदन अनुसार आफ्नै कृषि उत्पादनले मकवानपुरका ५६ दशमलव ६ प्रतिशतलाई मात्र कृषिबाट भएको आम्दानीले खान पुग्ने गरेको छ । राष्ट्रिय कृषिगणना–२०७८ को प्रदेशस्तरीय तथ्याङ्कअनुसार ४३ दशमलव ४ प्रतिशतलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको हो ।

बागमती प्रदेशमा कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार ४४ दशमलव १ प्रतिशतमात्र छन् । नेपालमा भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए ।

मकवानपुरमा ८१ दशमलव १ प्रतिशतको मुख्य स्रोत कृषि रहेको छ भने बागमतीमा ७२ दशमलव ६ प्रतिशतको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ । सार्वजनिक गरिएको तथ्याङ्क अनुसार पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पाओरट्रिलर प्रयोग गर्नेको संख्यामा बृद्धि भएको छ । मकवानपुरमा ३२ प्रतिशत फलामे हलो प्रयोगकर्ता रहेका छन भने ट्याक्टर ४३ प्रतिशत र १३ प्रतिशतले पाओरट्रिलरको प्रयोग गर्ने गरेको तथ्याङ्क छ । बागमतीमा १४ दशमलव ८ प्रतिशत फलामे हलो, ३० दशमलव ८ प्रतिशत ट्याक्टर र १६ दशमलव ७ प्रतिशत पाओरट्रिलर प्रयोगकर्ता रहेका छन ।

किसानको मुख्य चिन्ता भने समयमै मल, बिउँको उपलब्धता देखिएको छ । कृषिगणनामा सहभागीमध्ये ५७ प्रतिशतले समयमै मल, बिउँ उपलब्ध भए उत्पादन बढाउन सक्ने बताएका छन् । त्यस्तै ४८ प्रतिशतले सिँचाईको व्यवस्था, २७ प्रतिशतले कृषि काष्एको लागि तालिमको व्यवस्था, २७ प्रतिशतले कृषि प्राविधिक सेवा सहज, २२ प्रतिशतले कृषि औजार एवं आधुनिक साधन , १८ प्रतिशतले उन्नत नश्ल र उन्नत बीउबीजन, १२ प्रतिशतले कृषि उत्पादनको उचित बजार व्यवस्था र ११ प्रतिशत कृषकले शुन्य ब्याजदर वा सस्तोमा ऋण उपलब्ध गराउन सुझाव दिएका छन ।