हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा प्रत्येक बर्ष सञ्चालन हुँदै आएको बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करण यही पुष २४ गतेबाट हुने भएको छ ।

माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ वटा ए डिभिजन क्लव, एउटा विदेशी र दुइवटा मोफसलको क्लव गरी १० वटा टिमको सहभागिता हुने पक्का भएको आयोजकले जानकारी दिएको छ ।

आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिका संयोजक टीकालाल श्रेष्ठका अनुसार प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लव, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लव, मछिन्द्र फुटबल क्लव, हिमालयन शेर्पा क्लव, चर्च ब्वाइज युनाइटेड, जावलाखेल यूथ क्लव, भुट्निज स्पोर्टस् क्लव अमेरिका, मकवानपुर ११ र आयोजक बागमती गाउँपालिकाको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १०÷१० हजार रुपैयाँ तथा हरेक खेलको ‘म्यान अफ दी म्याच’लाई ५ हजार प्रदान गरिने आयोजकले बताएको छ। प्रतियोगिता सञ्चालनका लागि करिब ७१ लाख रुपैयाँ खर्च हुने आयोाजकको अनुमान छ ।

बागमती गाउँपालिका ८ फापरबारीस्थित जनता माविको खेल मैदानमा प्रतियोगिता हुनेछ। अघिल्लो संस्करणको उपाधि ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो। यस बर्षको प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन थ्रीस्टारको भने सहभागिता रहेको छैन । प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष अरुण बल लामाले जानकारी दिए ।

बागमती गाउँपालिकाले यस प्रतियोगितालाई मुख्य प्रायोजन गरी पालिकाको विशेष कार्यक्रमको रुपमा आयोजना गर्दै आएको छ। गाउँपालिकाले यस प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको छ भने अन्य रकम टिकट विक्री तथा विभिन्न प्रायोजकहरुबाट संकलन गरिने लामाले बताए । यस बर्षबाट एक खेल पत्रकारलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले घोषणा समेत गरेको छ ।